शुक्रबार, ४ जेठ २०८१

तीन वर्षअघि मुआब्जा लिएर पनि घर भत्काउन अटेर, चाबहिल–साँखु सडकखण्डले अझै पाएन पुर्णता

समयपोष्ट २०७७ असार १ गते १३:२८

Advertisement

आदित्य दाहाल

चाबहिल–साँखु सडकखण्ड अन्र्तगत थलीमा अहिलेसम्म सडक मर्मतको काम अगाडि बढ्न सकेको छैन । स्थानीयवासीले तीन वर्षअघि घरको मुआब्जा लिई पटक पटकको सूचना र ताकेतापछि पनि घर भत्काउन अटेर गरेपछि थलीमा सडकको अवस्था दयनीय बन्दै गएको हो । आर्थिक वर्ष २०७३÷७४ र २०७४÷७५ मा दुईपटक गरी मुआब्जा लिई अहिलेसम्म घर नभत्काएका कारण सडक निर्माणमा बाधा पुगेको हो ।
गत चैत महिनामा काठमाडौँ उपत्यका विकास प्राधिकरण, काठमाडौँ उपत्यका सडक विस्तार आयोजना र सडक विभागको संयुक्त टोलीले मुआब्जा लिएर घर भत्काउन अटेर गर्ने स्थानीयवासीको घरमा डोजर चलाएर भत्काएको थियो । घर–घरमा गएर पूर्व सूचना दिँदा पनि घर भत्काउन अटेर गरेपछि चैतमा मुआब्जा लिने स्थानीयवासीको घरमा डोजर चलाएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जानकारी दिएको थियो ।

प्राधिकरणले सडक क्षेत्रका घर भत्काई विस्तार गर्नुपर्ने सडक ‘एलाइन्मेन्ट’ पूर्णरूपमा खाली गराइसकेपछि सो क्षेत्रमा विस्तार तथा कालोपत्रको काम शुरु गरिने बताएको छ । स्थानीयवासीको अवरोधकै कारण सडक नबन्दा सडक खाल्डाखुल्डी र हिलाम्मे हुने गरेको स्थानीयवासी उद्धव चौलागाईंले बताउनुभयो । चौलागाईं भन्नुहुन्छ “सजिलै सडक वारपार गर्न सक्ने अवस्था छैन । बीच सडकका खाल्डो भएकाले कतिपए सवारीसाधन खाल्डोमै परेर रोकिने गरेका छन् । साइकल र पैदलयात्रीको लागि भने निकै ठूलो सास्ती खेप्नु परेको छ ।”

थलीको सडकमा मोटरसाइकल चिप्लिएर पल्टिँने, मिनि ट्रक नालीमा खस्ने र साना चारपाङ्ग्रे सवारीसाधनबीच सडकमै रोकिने यहँको दिनाचार्य जस्तै बनेको छ । स्थानीयवासी पावल बज्रचार्य सडकको मर्मत कार्यका लागि धेरै पटक आन्दोलनमा उत्रिएको कुरा सुनाउँदै मुआब्जा लिएर घर नभत्काउन केही व्यक्तिका कारणले थलीका नागरिकले धेरै समस्या खेप्नु परेको गुनासो व्यक्त गर्नुहुन्छ । विसं २०७२ मा दुई वर्षभित्र चावहिल–साँखु सडकखण्ड विस्तारको कामसक्ने गरी सडक निर्माण शुरु गरिएको थियो । म्याद सकिए पनि पटक–पटक म्याद थप गर्दै ठेकेदार कम्पनीलाई सडक विस्तारको जिम्मा लगाएको भए पनि कामले गति लिन सकेको छैन । सरकारले चावहिलबाट साँखुसम्म २२ मिटर चौडा चार लेनको सडक बनाउने योजना ल्यायो र काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले २०७२ जेठमा सडकखण्डको निर्माणको लागि बोलपत्र आह्वान गरेर असोजमा चार निर्माण व्यवसायीलाई ठेक्का दिएको थियो ।कुल लम्बाई १२ दशमलब ५०० किलोमिटर रहेको उक्त सडकखण्डमा चार कम्पनीले समयमै निर्माण नसक्ने भएपछि थप एक कम्पनी गरी पाँच ठेकेदार कम्पनीले यो सडकको विस्तार गरिरहेका थिए ।

Advertisement

ठेक्का दिएको मितिदेखि आर्थिक वर्ष २०७४÷०७५ मा आयोजना सम्पन्न गर्नुपर्ने भए पनि ठेकेदार कम्पनीले सर्वोच्च अदालतको अन्तरिम आदेश, मुआब्जा प्रक्रिया, विद्युतीय र टेलिफोनको पोल र तार नपन्छाउनु, खानेपानी तथा ढल लिकेज भई सडक सतहमा पानी बग्ने जस्ता कारण देखाई समयमै निर्माण गर्न नसकिएको भन्दै पन्छिने गरेका छन् । बौद्ध, पिपलबोट, जोरपाटी, इन्द्रेणीका केही ठाउँमा कालोपत्र गरेको भए पनि दक्षिणढोका, थली, डाँछी, खुलालटारलगायतका क्षेत्रमा सडक निर्माण तथा कालोपत्र हुन नसक्दा यस सडकखण्डले हालसम्म पनि पूर्णता पाउन सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री