शुक्रबार, १४ वैशाख २०८१

नगर अस्पताल निर्माण गर्दै ललितपुर महानगरपालिका

समयपोष्ट २०७६ वैशाख ३० गते १४:१५


नगर क्षेत्रमा कुनै पनि सरकारी अस्पताल नभएको अवस्थामा ललितपुर महानगरपालिकाले नगर अस्पताल निर्माण गर्ने योजना बनाएको छ । अस्पताल निर्माणका लागि महानगरले जग्गा पहिचान गरिसकेको छ । यस वर्ष अस्पताल निर्माण गर्ने स्थान निर्णय भइसकेपछि आगामी वर्षको बजेटमा रकम छुट्याइने महानगरपालिकाले जनाएको छ । महानगरपालिकाको वडा नं २७ (साविक सुनाकोठी गाविस) मा रहेको सार्वजनिक जग्गामा अस्पताल निर्माण गर्ने योजना भएको महानगरका प्रवक्ता राजु महर्जनले बताए । उनले भने, “त्यस स्थानमा झण्डै १७ रोपनी खाली जग्गा खाली भएकाले अस्पताल निर्माणका लागि अहिले सम्भाव्यता अध्ययन भइरहेको छ ।”

Advertisement

ललितपुर उपमहानगरपालिका भएदेखि नै ललितपुरमा सरकारी अस्पताल नहुँदा नगरवासी प्राथमिक स्वास्थ्य केन्द्र वा काठमाडौँका सरकारी अस्पताल जान बाध्य थिए । ललितपुरमा लामो समयसम्म जिल्ला अस्पताल नभएपछि अघिल्लो वर्ष मात्रै गोदावरी नगरपालिकाको स्वास्थ्य केन्द्रमा जिल्ला अस्पताल सारिएको थियो । महानगरपालिकाको वडास्थित स्वास्थ्य केन्द्रमा रहेका बर्थिङ सेन्टरले पनि बिरामीलाई किस्ट अस्पतालमा सिफारिश गर्ने गरेको थियो ।

गोदावरी सडकमा निर्माण ठप्प

सम्झौता अवधि छ महीना मात्रै बाँकी हुँदा कर्मनाशा खोलाबाट हरिसिद्धि हुँदै गोदावरी कुण्डसम्मको सडक निर्माण अघि बढ्न सकेको छैन । स्थानीयवासीको अवरोधका कारण निर्माण शुरु भएको तीन वर्षमा १० प्रतिशत मात्रै काम सकिएको छ । यो सडकमा स्थानीयवासीले घरसँगै जग्गाको समेत मुआब्जा माग गरेर निर्माण कार्य अघि बढाउन नदिँदा भौतिक प्रगति कम भएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । सडक मापदण्डभित्र पर्ने १२० घर सर्वाेच्च अदालतको आदेशका कारण भत्काउन नसकिएको उक्त आयोजनाका इञ्जिनीयर विश्वविजयलाल श्रेष्ठले बताए ।

उपत्यकाका विस्तार गर्न लागिएका कतिपय सडकमध्ये उपलब्ध भएका स्थानमा कालोपत्र गर्ने सरकारले निर्णय भएको जानकारी दिँदै उनले भने, “यो सडकका लागि त्यस्तो निर्णय पनि नभएको र स्थानीयवासीले घर र जग्गा दुवैको मुआब्जा मागिरहेकाले निर्माण ठप्प भएको हो ।” सात दशमलव छ किलोमिटर लामो सोे सडक निर्माणका लागि आशिष सिएम जेभी र लामा समानान्तर जेभी ठेकेदार कम्पनीसँग विसं २०७३ असारमा ठेक्का सम्झौता गरिएकामा आगामी कात्तिकमा संझौता अवधि सकिने इञ्जिनीयर श्रेष्ठले बताए । उनले भने, “यही अवस्था रहिरहँदा अवधि सकिए पनि भौतिक प्रगति न्यून नै हुन्छ ।”अहिले काठमाडौँ उपत्यकामा १२ वटा सडक निर्माणाधीन अवस्थामा छन् । ती सबैमा जग्गा र घरको मुआब्जा विवादका कारण सम्झौता अवधि सकिँदा वा थोरै समय बाँकी हुँदा पनि भौतिक प्रगति कम छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री