बिहीबार, २० वैशाख २०८१

स्वास्थ्य उपकरण प्रयोग भएनन्

समयपोष्ट २०७६ वैशाख १८ गते १६:२७

रामप्रसाद निरौला

विगत १० वर्षदेखि कनकाई नगरपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्रको एक्सरे र अन्य स्वास्थ्य उपकरण प्रयोगमा आउनसकेका छैनन् । आमनागरिकको सेवाका लागि सरकारबाट अनुदान प्राप्त ती उपकरण प्रयोगमा आउन नसक्दा बिरामीको स्वास्थ्य परीक्षण हुन सकेको छैन ।

Advertisement

स्वास्थ्य केन्द्रमा अत्यावश्यक भएको ठहर गरी स्वास्थ्य बीमाले एक वर्ष अघि दिएको अर्को एक्सरे मेसिनसमेत गोदाममा थन्किएको छ । केही दिन अघि मात्र स्वास्थ्य केन्द्रको नयाँ भवनमा एउटा एक्सरे मेसिन सारिएको छ भने आवास गृहमा रहेको अर्को मेसिन लामो समयदेखि प्रयोगमा नआउँदा माकुराको जालो लागेको छ ।

प्रतिगोटा करीब पाँच लाख रुपैयाँ पर्ने एक्सरे मेसिन स्वास्थ्य केन्द्रको गोदामभित्र थन्किएपछि स्थानीय स्तरमा रहेको स्वास्थ्य अस्पतालबाट पाउने एक्सरे सेवाबाट स्थानीयवासी वञ्चित रहँदै आएका छन् । एक्सरे मेसिन मात्र होइन स्वास्थ्य केन्द्रलाई एक वर्ष अघि एक संस्थाले अनुदान दिएको १५ लाख रुपैयाँ भन्दा बढीको स्वास्थ्य परीक्षणसँग सम्बन्धित अत्याधुनिक उपकरणहरुसमेत अहिलेसम्म स्वास्थ्यको गोदामभित्रै थन्किएर बसेका छन् । स्थानीयवासीले मान्यता प्राप्त सरकारी स्वास्थ्य केन्द्रमा सहज तरीकाले पाउनु पर्ने सेवाबाट पर्याप्त फाइदा लिन नसकेको केन्द्रमा कार्यरत जिम्मेवार स्वास्थ्यकर्मीले समेत बताउँदैआएका छन् ।

प्राथमिक स्वास्थ्य केन्द्रमा बिरामीको स्वास्थ्य परीक्षण गर्न डाक्टरका लागि व्यवस्थित किसिमको बिरामी परीक्षण कक्ष नहुँदा बिरामीको स्वास्थ्य परीक्षण गर्र्न नै समस्या हुने गरेको केन्द्रका डा प्रवीण भट्टराईले बताए । स्वास्थ्य सेवाका लागि नयाँ अस्पताल भवन तयारी हालतमा रहेको भए पनि सञ्चालनमा आउन नसक्दा सबै पक्षलाई समस्या पर्दैआएको बताइएको छ । प्राथमिक स्वास्थ्य केन्द्र सुरुङ्गाको नवनिर्मित भवन निर्माण कार्य सम्पन्न भएको एक वर्ष बितिसक्दा पनि सञ्चालनमा नआउँदा स्थानीयवासी रनभुल्ल छन् ।

यो स्वास्थ्य केन्द्रलाई जिल्ला स्तरको ठूलो अस्पतालका रुपमा विकास गर्ने योजनाका साथ भौतिक संरचना निर्माणमा तीव्रता दिइएको हो तर, निर्माण कम्पनीले ढिलासुस्ती गरेका कारण सेवाग्राहीहरु अस्पतालबाट लिने गुणस्तरीय सेवावाट वञ्चित भएका छन् । ठूलो अस्पतालबाट स्थानीयस्तरबाटै भरपर्दो सेवा पाउने आशामा रहेका सर्वसाधारण अहिले अन्योल छन् । अस्पताल सञ्चालनमा ढिलाइ भएकै कारण दाताबाट प्राप्त भएका १५ लाख रुपैयाँ भन्दा बढी मूल्य पर्ने उपकरणहरु प्रयोगविहीन हुँदा नष्ट भएर जाने अवस्थामा पुगेको बताइन्छ ।

Advertisement

भवन निर्माणका लागि शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय इलामले ६ करोड ९३ लाख १० हजार रुपैयाँको अनुमानित लागतमा बोलपत्र आह्वान गरेको थियो । यस अनुरुप पाँच करोड ५२ लाख ५८ हजार रुपैयाँमा २०७४ चैत १० गतेभित्र निर्माण कार्य सम्पन्न गर्ने गरी दि कञ्चनजङ्घा र कञ्चनजङ्घा जेभी काठमाडौंलाई कार्यादेश भएको हो । भवन निर्माण सम्पन्न भएसँगै १५ शय्याको प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालनमा आउनुपथ्र्यो ।
स्थानीय तहमा एक अस्पताल रहनुपर्ने अवधारणा अनुरुप कनकाई नगरपालिका ३ स्थित सुरुङ्गामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई जिल्ला स्तरको अस्पतालको रुपमा सञ्चालनमा ल्याउने तयारी भएको हो । अस्पताल सञ्चालनका लागि सुविधासम्पन्न भौतिक पूर्वाधार सँगसँगै आवश्यक अरु मापदण्ड पूरा गर्नुपर्ने थियो । रङ्गरोगनसहितको सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्नुपर्ने सम्झौताअनुसारको समयसीमा नाघेको एक वर्ष हुँदा पनि अस्पताल सञ्चालनमा नआउनुमा सञ्चालक समिति साथै सरोकारवाला सरकारी निकायका उदासीनता भएको स्थानीयवासी बताउँछन् ।

ठेक्का सम्झौताको म्याद बितिसकेकाले सम्बन्धित विभागमा ठेक्काको म्याद थपका आग्रह गरिएको छ । तेस्रो चौमासिकको बजेट आउन बाँकी भएर भुक्तानी रोकिएकाले अझै एक महीना ढिला हुनसक्ने सघन शहरी तथा भवन निर्माण आयोजना भद्रपुर झापाका इञ्जिनीयर विनोद सिंहले बताए । आवश्यक प्रक्रिया पूरा गरेर जतिसक्दो चाँडो समितिलाई जिम्मा लगाउन आफूहरु हतारिएको इञ्जिनीयर सिंहको भनाइ छ । केही महीना अघि झ्यालढोकाका लागि आवश्यक पर्ने सामग्रीको अभाव भएकाले केही समय ढिला हुन गएको भए पनि अब एक महिनाभित्रमा सम्पूर्ण प्रक्रिया पूरा गरी समितिलाई हस्तान्तरण गर्ने योजना रहेको सिंहको भनाइ छ ।

निर्माण कम्पनीले गुणस्तरहीन सामग्री प्रयोग गरी निर्माण कार्यमा लापरवाही गरेपछि स्थानीयवासी अख्तियारसम्म पुग्नु परेको स्थानीय हरिभक्त संग्रौला बताए । व्यवस्थापन पक्ष कमजोर हुँदा केन्द्रमा आवश्यकतानुसारको औषधि र दक्ष जनशक्तिको अभाव छ । केन्द्रको सेवालाई व्यवस्थित र विश्वसनीय बनाउन सञ्चालक समिति पनि नलागेको केन्द्रमै कार्यरत स्वास्थ्यकर्मीहरु बताउँछन् । समितिमा रहेका पदाधिकारीहरुले हरेक दिन पालो मिलाएर स्वास्थ्य केन्द्रमा आएर अनुगमन गरिदिए यसको दैनिक सेवामा धेरै प्रभाव पर्ने आफ्नो नाम सार्वजनिक नगर्ने शर्तमा केन्द्रका एक जिम्मेवार स्वास्थ्यकर्मीले बताए ।

केन्द्रको सञ्चालक समितिका पदाधिकारीहरुमा वडा नं ३ का वडाध्यक्ष नै स्वास्थ्य केन्द्रको अध्यक्ष हुने व्यवस्थाअनुसार वडाध्यक्ष रुद्रप्रसाद चिमरिया यस स्वास्थ्य केन्द्रको अध्यक्ष छन् । जनताको कामका लागि हरेक दिन आफू नगरपालिकामा जानुपर्ने भएकाले स्वास्थ्य केन्द्रले दिइरहेको सेवाका विषयमा आफूलाई धेरै जानकारी नभएको स्वयं चिमरियाले बताउछन् । स्थानीय सरकारले समेत स्वास्थ्य केन्द्रका लागि पर्याप्त बजेट विनियोजन नगरेको उनको गुनासो छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री