शुक्रबार, १४ वैशाख २०८१

दलको बैठकमा प्रचण्डले भने, ‘अरुले पिठो बेचे, हामी चामल त बेचौं’ 

समयपोष्ट २०७४ जेठ १७ गते ९:२८

प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अरुले पिठो बेचेर राजनीति गरे पनि माओवादी केन्द्रले भने चामल बेच्न नसकेको बताएका छन् । 
नेकपा (माओवादी केन्द्र) संसदीय दलको बैठकमा बोल्दै प्रचण्डले माओवादी सरकारले गरेका कामहरुको प्रचार गर्न र जस लिन नसकिएको बताए । ‘माओवादी नेतृत्वको सरकारले दुरगामी महत्व राख्ने र इतिहासमा मानक सिद्ध हुने काम गरेको छ । यही अवधिमा लोडसेडिङको अन्त्य भयो, उज्यालो युगको सुरुवात भयो, वर्षाैदेखि रोकिएको १४०० किमीको हुलाकी राजमार्ग हाम्रै पालामा बन्दैछ, हाम्रै पालामा महाकालीमा पुल बन्दैछ, १४ वटा ठूला सडकहरु हाम्रै पालामा बन्दैछन्, फास्ट ट्रयाक शिलान्यास गरेर काम अघि बढी नै सक्यो, बुढीगण्डकी जलासययुक्त आयोजना सुरु हुँदैछ । आर्थिक बृद्धिदर ७.५% पुगेको छ, मूल्य वृद्धि नियन्त्रण भएको छ । इतिहासमै पहिलोपटक संघीयताको प्रयोगमार्फत् सिंहदरबारको अधिकार गाउँ नगरमा पुगेको छ । २० वर्षदेखि रोकिएको स्थानीय निर्वाचन सम्पन्न गरिएको छ, बुधबार बिहान सिंहदरबारमा बसेको बैठकमा बोल्दै प्रचण्डले भने, तर, यति ठूला र इतिहासमै मानक बन्ने काम गरेर पनि हामीले जस लिन सकेका छैनौं । अरुले गफै गरेर चर्चा बटुले, हामीले कामको जस लिन जानेनौं । तपाई सांसदहरु गाउँ–गाउँ पुगेर माओवादी नेतृत्वको सरकारले गरेका कामको प्रचार गर्नुस्, जनतालाई बुझाउनुस् । अरुले पिठो बेचे, हामी चामल त बेचौं ।’
निर्वाचनलाई सामान्य अर्थमा नलिन प्रचण्डले आग्रह गरे । ‘निर्वाचन सामान्य प्राविधिक विषय होइन, यसको ठूलो राजनीतिक महत्व छ । यसभित्र राष्ट्रिय एकता एवं स्वाभिमानको रक्षा गर्ने र हिमाल, पहाड र तराई–मधेशको एकता सुदृढ गर्ने आकांक्षा लुकेको छ । हामी एकै चरणमा निर्वाचन चाहन्थ्यौं । तर, त्यसो गरेको भए निर्वाचन नै नहुने खतरा थियो । सिंगो देशलाई नै निर्वाचनमा लैजाने कुराको ठूलो महत्व छ, उनले भने, ‘मुस्लिम समुदायको रमजानलाई ख्याल गरेर असार १४ गते चुनाव सार्ने निर्णय गरिएको छ । अब राजपा पनि चुनावमा आउँछ, एमालेका साथीहरुको पनि आलोचनात्मक समर्थन छ । असार १४ को निर्वाचन फेरि सर्दैन, चुनाव हुन्छ, मौसमविदहरुसँग पनि राय लिएका कारण मौसमले निर्वाचन प्रभावित हुँदैन भन्ने विश्वास छ ।’
प्रधानमन्त्रीले सहमतीय सरकारका लागि छलफल जारी रहे पनि सम्भावना कम रहेको बताए । ‘छलफल त जारी छ । तर, सहमतीय सरकार तत्काल बनिहाल्ने देखिँदैन, कांग्रेसकै नेतृत्वमा सरकार बन्छ’, उनले भने । बैठकमा उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले बजेटबारे सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिनुभएको थियो । 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री