शुक्रबार, १४ वैशाख २०८१

मन्त्रीपरिषद निर्णय : संसदको चालू अधिवेशन अन्त्य,प्रेस काउन्सिलको अध्यक्षमा बराल ,स्थानीय चुनावमा मारिएकालाई शहीद घोषणा गरी १० लाख दिने

समयपोष्ट २०७४ जेठ ४ गते ७:३४

सरकारले संसदको चालू अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । विहिबार बसेको मन्त्रीपरिषद बैठकले संसदको चालू हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो । 
जेठ १५ गते बजेट सार्वजनिक गर्ने तयारीमा रहेको सरकारले हिउँदे अधिवेशन विधिवत रुपमा अन्त्य गर्ने निर्णय गरेको हो । 
संसदको हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय लिइएको सरकारका प्रवक्ता एवम् सूचना तथा संचारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए । 
सरकारले नदी प्रणाली व्यवस्थापन तथा हरियाली प्रवद्र्धन, बन विकास र नवीकरण उर्जा प्रवद्र्धन, प्राकृतिक स्रोतको दीगो व्यवस्थापन, जलवायु परिवर्तनबाट हुने जोखिम व्यवस्थापनका लागि अनुकूलन कार्यक्रम समावेश गरी चुरे तराई मधेश संरक्षण तथा व्यवस्थापन गुरुयोजना निर्माण गर्ने निर्णय गरेको छ ।
बैठकले प्रेस काउन्सिल नेपालको अध्यक्षमा भवानी बराललाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पत्रकार बराललाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । 
बैठकले थरुहट आन्दोलन र मधेस आन्दोलनलाई राजनीतिक आन्दोलनको रुपमा स्वीकार गर्ने निर्णय गरी त्यसमा संलग्नहरु विरुद्ध लागेका मुद्दा फिर्ता लिने निर्णय गरेको छ । मुद्दा फिर्ता सम्बन्धी प्रस्ताव तयार गर्न कानुन मन्त्रालयलाई जिम्मेवारी दिइएको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए । 
सरकारले सेना तथा प्रहरीले सञ्चालन गरेको स्वास्थ्य संस्थामा आम नागरिकलाई सेवा दिने निर्णय पनि गरेको छ । 
सरकारले स्थानीय चुनावको सन्दर्भमा मारिएका दुई जनालाई शहीद घोषणा गरी परिवारलाई १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । काभ्रेको नमोवुद्धमा मारिएका नवराज पाठक र दोलखाको जुगुमा मारिएका कुलबहादुर तामाङलाई शहीद घोषणा गरिएको हो । सरकारले उनीहरुको छोराछोरीको शिक्षादीक्षामा पनि सहयोग गर्ने निर्णय गरेको मन्त्री कार्कीले जानकारी दिए ।
 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री