शुक्रबार, १४ वैशाख २०८१

वीरगन्जमा एक महिनाभित्रै दुर्इवटा शेयर ब्रोकरले खोले शाखा

समयपोष्ट २०७४ वैशाख १८ गते ७:०९

व्यापारिक नगरी वीरगन्जमा एक महिनाभित्रै दुइटा सेयर खरिद बिक्री गर्ने कम्पनीहरूले शाखा स्थापना गरेका छन् । सेयर कारोबार गर्ने ब्रोकर नम्बर ५८ को नासा सेक्युरिटिज कम्पनीले आइतबार वीरगन्जमा शाखा स्थापना गरेको छ ।

Advertisement

शाखाको वीरगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अशोक वैदले उद्घाटन गरे । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत सेयर खरिद बिक्री गर्ने केन्द्र सञ्चालनका लागि आवेदन दिएका चारवटा ब्रोकर कम्पनीहरूमध्ये प्राइमो सेक्युरिटीज कम्पनीले चैत २४ गते वीरगन्जमा शाखाको स्थापना गरेको थियो । 

नासा सेक्युरिटिजको शाखा स्थापना भएको जानकारी पाएपछि बाराको जितपुर सिमरा उपमहानगरपालिकामा खाद्यान्न व्यापार गर्ने ध्रुव प्रसाद साह निकै खुसी भएर कार्यालयमा आए । सेयर खरिद बिक्रीको काम वीरगन्जबाट नै हुने भएपछि अब काठमाडौं जानुपर्ने बाध्यताबाट मुक्त भएको उनले बताए । विभिन्न कम्पनीमा गरी एक हजार तीन सय कित्ता सेयर रहेको ध्रुवले भने, “सेयर खरिद बिक्री गर्ने कम्पनी वीरगन्जमै खुलेपछि हामीलाई सहज भएको छ ।”

उनले थपे, “सामान्य अवस्थामा आठ घण्टा लगाएर काठमाडौं जानुपर्ने बाध्यता रहेको अवस्थामा अब आधा घण्टामा वीरगन्ज आएर सेयर कारोबार गर्न पाउने भइयो ।”  केही वर्षअघि ब्रोकर नम्बर २२ रहेको सिप्रवी सेक्युरिटीज कम्पनीले सेयर खरिद विक्री केन्द्र सञ्चालनमा ल्याएको थियो । त्यसबेला सेयर बजार मन्दी र सेयरका बारेमा सर्वसाधारणमा पूर्ण जानकारी नहुँदा खरिद बिक्री केन्द्र बन्द गर्नुपरेको थियो ।

पछिल्लो समय सेयर कारोबारमा उद्योगी, व्यवसायी मात्र नभई सर्वसाधारणको समेत आकर्षण बढ्दै गएको र पहिलेको समय र अहिलेको समयमा पनि परिवर्तन आएकोले सेयर कारोबार गर्नेहरू वीरगन्जमा बढ्दै गएको व्यवसायी सज्जन अग्रवालले बताए । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री