शुक्रबार, १६ जेठ २०८२

गण्डक जलविद्युत् केन्द्रबाट विद्युत् उत्पादन पुनः सुरु

समयपोष्ट २०८२ जेठ १६ गते १८:५०

Advertisement

पश्चिम नवलपरासीको गण्डक नहरमा दुई महिनापछि पानी आएको छ । नहरमा पानी आएपछि प्रतापपुर गाउँपालिका–७ गुठ्ठी सूर्यपुरास्थित गण्डक जलविद्युत् केन्द्रले बिहीबारदेखि विद्युत् उत्पादन सुरु गरेको हो ।

जलविद्युत् केन्द्रका प्रमुख पिताम्बर भुसालले मङ्गलबार बिहान नहरमा पानी छोडिएको बताउँदै प्राविधिक समस्याले बिहीबारदेखि उत्पादन सुरु गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार अहिले नहरमा फोहर पानी आइरहेकाले तत्काल एउटा टर्वाइन सञ्चालन गरेर डेढ मेगावाटसम्म विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण ग्रिडमा जोडिएको छ ।

भुसालले भन्नुभयो, “गत फागुन २६ गतेदेखि नहरमा पानी आउन बन्द भएको थियो । पानी नभएपछि सोहीबेलादेखि विद्युत् उत्पादन पनि बन्द भएको थियो ।” पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकास्थित गण्डक ब्यारेजबाट नहरको पानी बन्द गरिएको थियो ।

नेपाल–भारत गण्डक सम्झौताअनुसार भारतले सन् १९७९ मा निर्माण गरेको जलविद्युत् केन्द्र ३१ अगस्त १९८१ मा नेपाललाई हस्तान्तरण गरेको थियो । करिब ४४ वर्ष पुरानो गण्डक जलविद्युत्मा नहरमा पानी छोड्ने र बन्द गर्ने अधिकांश भारतीय पक्षले गर्दै आएका प्रमुख भुसालले जानकारी दिनुभयो ।

Advertisement

उहाँका अनुसार भारतको उत्तर प्रदेश गोरखपुरस्थित गोरखपुर सिँचाइ विभागले उक्त विद्युत् केन्द्रको नहरमा सरसफाइ तथा मर्मतको नाममा प्रत्येक वर्ष पानीलाई बन्द गर्दै आएको छ । गण्डक जलविद्युत् केन्द्रको १५ मेगावाट विद्युत् उत्पदान क्षमता भए पनि उत्पादन गर्न सकेको छैन ।

पुरानो उपकरण र एउटा टर्वाइन बिग्रिएकाले केन्द्रबाट अहिले चार दशमलव पाँच मेगावाटसम्म विद्युत् उत्पादन गर्ने गरेको प्रमुख भुसालले उल्लेख गर्नुभयो । “तीनवटा टर्वाइन भए पनि दुईवटाले मात्र विद्युत् उत्पादन गर्छ, एउटा टर्वाइन बिग्रेर थन्केको छ”, उहाँले भन्नुभयो ।

गण्डक जलविद्युत् केन्द्रमा रहेका उपकरणहरू पुरानो प्रविधिअनुसार रहेकाले परिर्वतन र सुधार गर्नुपर्ने देखिएको प्रमुख भुसालले बताउनुभयो । उहाँका अनुसार अहिले नेपालले भारतको विहार राज्यको रामनगरबाट विद्युत् आयात गरिरहेको छ । “पानीको मात्रा पूरा भएपछि हामीले यहाँबाट विद्युत् निर्यात गर्न सक्ने छौँ”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री