सोमबार, ५ साउन २०८२

सेबोनले १४ कम्पनीलाई आईपीओ पाइपलाइनबाट हटायो, हेर्नुहोस् कुन-कुन ?

समयपोष्ट २०८२ जेठ ६ गते १३:४८


नेपाल धितोपत्र बोर्ड (सेबोन)ले लामो समयदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) का लागि आवेदन दिएर अनुमति पर्खिरहेका १४ वटा कम्पनीलाई पाइपलाइनको सूचीबाट हटाएको छ।

सेबोन स्रोतका अनुसार प्रति शेयर नेटवर्थ ९० रुपैयाँभन्दा कम भएका कम्पनीहरूलाई आईपीओ निष्कासनको प्रक्रियाबाट हटाइएको हो। सार्वजनिक लेखा समितिको २०८० पुस १३ गतेको निर्देशनअनुसार यस्तो निर्णय गरिएको हो। समितिले प्रतिशेयर नेटवर्थ ९० रुपैयाँ वा सोभन्दा कम भएका कम्पनीहरूलाई आईपीओ निष्कासन गर्न नदिन निर्देशन दिएको थियो।

पाइपलाइनबाट हटाइएका कम्पनीहरूमा सबैभन्दा बढी जलविद्युत् कम्पनीहरू छन्। जसमा सानिमा हाइड्रोपावर, लाफिङ बुद्ध पावर नेपाल, पुवा खोला–वन हाइड्रोपावर लिमिटेड, बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेड, रिचेट जलविद्युत कम्पनी लगायत छन्।

त्यस्तै, अन्य हटाइएका कम्पनीहरूमा एपेक्स हस्पिटालिटी लिमिटेड, अर्किड होल्डिङ लिमिटेड, अन्नपूर्ण केवलकार, ठमेल प्लाजा होटेल एण्ड सुइट्स लिमिटेड, युनिक हाइडेल कम्पनी लिमिटेड, एकर्ड फर्मासुटिकल्स लिमिटेड, सोपान फर्मासुटिकल्स लिमिटेड, कान्तिपुर टेलिभिजन नेटवर्क लिमिटेड र प्रभु हेलिकप्टर लिमिटेड छन्।

हालको तथ्यांकअनुसार हाल सेबोनको आईपीओ पाइपलाइन सूचीमा ७७ वटा कम्पनी छन्। ती कम्पनीहरूले ५२ अर्ब ५३ करोड ८५ लाख १३ हजार रुपैयाँ बराबरको ३६ करोड ९२ लाख ९८ हजार कित्ता आईपीओ निष्कासनको तयारी गरिरहेका छन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री