ट्रेड टावर लिमिटेडले जेठ १४ देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दै
ट्रेड टावर लिमिटेडले जेठ १४ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक साधारण शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गर्दैछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बाँडफाँट सम्पन्न गरेपछि कम्पनीले अब सर्वसाधारणका लागि शेयर निष्काशन गर्न लागेको हो।
कम्पनीको जारी पूँजी ८१ करोड ५६ लाख ९ हजार ७०० रुपैयाँको ४८.६९६ प्रतिशत अर्थात् ३९ करोड ७१ लाख ६९ हजार ३०० रुपैयाँ बराबरको ३९ लाख ७१ हजार ६९३ कित्ता शेयर निष्काशनको अनुमति प्राप्त भएको थियो। यसअन्तर्गत सर्वसाधारणका लागि ३२ करोड ९६ लाख ५० हजार ५१९ रुपैयाँ बराबरको ३२ लाख ९६ हजार ५०५.१९ कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा निष्काशन गरिनेछ।
पहिलो चरणमा कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ३ लाख ९७ हजार १६९.३० कित्ता, सामूहिक लगानी कोषका लागि १ लाख ९८ हजार ५८४.६५ कित्ता र कर्मचारीहरूका लागि ७९ हजार ४३३.८६ कित्ता शेयर निष्काशन गरी बाँडफाँट गरिसकेको छ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म शेयरका लागि आवेदन दिन सक्नेछन्। निष्काशन जेठ १९ गते छिटोमा बन्द हुनेछ, तर पूर्ण आवेदन नपरेमा जेठ २८ गतेसम्म लम्बिन सक्नेछ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत आस्बा सदस्य बैंक, वित्तीय संस्था, तिनका शाखा कार्यालयहरू र ‘मेरो शेयर’ अनलाइनमार्फत सि–आस्बा प्रणालीबाट आवेदन दिन सक्नेछन्।
आईपीओ निष्काशनका लागि इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस’ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ।
प्रतिक्रिया