नेपाल धितोपत्र बोर्डमा अख्तियारको छापा, आईपीओ निष्कासन सम्बन्धी फाइलहरू नियन्त्रणमा
नेपाल धितोपत्र बोर्डमा बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ। आयोगले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) स्वीकृति प्रक्रियासँग सम्बन्धित फाइलहरू नियन्त्रणमा लिएको छ।
निजी ऊर्जा उत्पादकहरूले आईपीओ स्वीकृतिका लागि कमिसन मागिएको आरोप लगाएपछि अख्तियारले यो कदम चालेको हो। बिहान ११ बजे आयोगका तीन अनुसन्धान अधिकृतको टोली बोर्डको कार्यालय पुगेको थियो। उक्त टोलीले साँझ ४ बजेसम्म बोर्डका वरिष्ठ कर्मचारीहरूसँग सोधपुछ गरेको स्रोतले जनाएको छ। टोलीले विभिन्न कागजातहरू समेत आफूसँग लिएर गएको बताइएको छ।
धितोपत्र बोर्डका सहप्रवक्ता तोलाकान्त न्यौपानेले अख्तियारको टोली बोर्डमा आएको पुष्टि गरे। तर, उनले महत्वपूर्ण कागजातहरू भने नलिएको दाबी गरे। “अख्तियारको टोली आउनुभएको हो। बजारमा चलेको हल्लापछि आईपीओ स्वीकृतिको प्रक्रिया बुझ्न खोज्नुभएको मात्र हो। सामान्य कागजातबाहेक अन्य केही लिएर गएको छैन,” न्यौपानेले भने।
यो घटनाले धितोपत्र बोर्डको पारदर्शिता र कार्यप्रणालीमाथि प्रश्न उठाएको छ। अख्तियारको अनुसन्धानले थप तथ्यहरू बाहिर ल्याउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया