सोमबार, ७ जेठ २०८१

डेढ दशक विदेशमा बिताएर फर्किएपछि पशुपालन, ५० लाख आम्दानी

समयपोष्ट २०८१ वैशाख २८ गते १३:०२

Advertisement

लामो समय वैदेशिक रोजगारीको कमाइले मोरङका युवा स्वदेशमा उद्यमी बन्नुभएको छ । करिब सात वर्षअघि मोरङको बेलबारी–९ डाँगीहाटमा रु एक करोड लगानीबाट सुरु भएको कृषि फार्मले हाल वार्षिक सबै खर्च कटाएर रु ५० लाख आम्दानी गरिरहेको छ ।

वैदेशिक रोजगारीबाट फर्किएका युवा व्यवसायी होमनाथ बास्कोटा, राजु डाँगी, जितेन्द्र दाहाल र स्वदेशमै रोजगारी गरिरहनुभएका नगेन्द्र अधिकारी, विष्णु बस्नेत र गोविन्द अधिकारीले २०७४ सालमा लेयर्स जातको कुखुरा पालनबाट सुरु भएको फार्ममा हाल उन्नत जातका बाख्रा र मेवा खेती पनि रहेका छन् ।

करिब डेढ दशकसम्म विदेशमा बिताएर फर्किएपछि उहाँहरुले मिलेर अण्डा दिने कुखुरापालन गर्न थाल्नुभएको हो । डेढ बिघा जमिन क्षेत्रफलमा रहेको उक्त फार्ममा रहेका १७ हजार लेयर्स कुखुरा फार्मबाट दैनिक १३ हजार अण्डा उत्पादन भइरहेको सञ्चालक होमनाथ बताउनुहुन्छ । “अहिले अण्डाको आम्दानीले विदेशलाई नै भुलाएको छ”, बास्कोटाले भन्नुभयो, “प्रतिगोटा रु १२ का दरले बेचिरहेको अण्डाबाट दैनिक रु एक लाख ५६ हजारको बिक्री हुने गरेको छ ।”

उहाँका अनुसार उत्पादित अण्डा ७० प्रतिशत स्थानीय बजारमा खपत हुन्छ भने ३० प्रतिशत बाहिरको बजारमा खपत हुँदै आएको छ । स्थानीय धरान, विराटनगर, इटहरी, दमकलगायत पूर्वका सहरमा अण्डा जाने गरेको उहाँले बताउनुभयो । आफूले यो बीचमा कुखुरासम्बन्धी प्राविधिक ज्ञानसमेत लिएको बताउँदै उहाँले भन्नुभयो, “कुखुरा बाख्रालगायतमा कुनै रोग लागे पशु डाक्टरको ठूलो अभाव रहेको छ ।”

Advertisement

मिर्मिरे एग्रो प्रालि नाम रहेको उक्त कृषि फार्ममा कुखुराका साथै बाख्रापालन पनि रहेको छ । खरी, बोयर, पिटर र जामुनापारी जातका ८० को सङ्ख्यामा बाख्रा रहेका छन् । बाख्राको माग उच्च रहेको जनाउँदै सञ्चालक होमनाथले व्यावसायिक बाख्रापालनमा राम्रो आम्दानी रहेको दाबी गर्नुभयो । उक्त फार्ममा कुखुरा र बाख्रासँगै मेवाखेती पनि रहेको छ । चार कट्ठा जमिनमा तीन सय ५० बोट मेवा रहेका छन् । एउटा बोटमा एक याममा ६० किलोदेखि सय किलोसम्म फल्ने गरेको फार्म सञ्चालक होमनाथ बताउनुहुन्छ । होलसेल मूल्यमै हाल रु ९० प्रतिकिलोका दरले विराटनगरमा बिक्री भइरहेको उहाँ बताउनुहुन्छ ।

खुला सिमानाका कारणले उत्पादित अण्डाको मूल्यमा एकरुपता आउन नसकेको जनाउँदै कुखुराले खाने चारोको मूल्य वृद्धिको अनुपातमा अण्डाको मूल्य बढ्न नसकेको फार्म सञ्चालक होमनाथ बताउनुहुन्छ । स्थानीय पालिकाले कृषि तथा पशुको पकेट क्षेत्र तोक्न आवश्यक रहेको फार्म सञ्चालक उहाँ बताउनुहुन्छ । पकेट क्षेत्र तोक्दा कृषि पशुपालन क्षेत्र व्यवस्थित हुनुका साथै कृषक लाभान्वित हुने उहाँले बताउनुभयो ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री