शुक्रबार, १६ चैत २०८०

गाउँपालिकाले ट्यांकर किनेर पानी खुवायो

समयपोष्ट २०७५ जेठ १ गते ७:२३

—जितबहादुर भण्डारी

Advertisement

सिंहदरबारको अधिकार गाउँपालिकामा गएको छ । धेरै जनप्रतिनिधि आफ्नो सेवा सुविधाका लागि लाखौँ र करोडौँ पर्ने गाडीमा गुड्ने गर्दछन्, तर पाँचथरको यस्तो एउटा स्थानीय तह छ जसले आफ्नो सुविधाभन्दा पनि जनताको सुविधाप्रति चासो दिएको छ ।

प्रसंग हो, पाँचथरको सुक्खाग्रस्त क्षेत्र कुम्मायक गाउँपालिकाको । जताततै खानेपानीको संकटमा परेका नागरिकलाई गाउँपालिकाको पहिलो गाउँसभाबाटै पानी खुवाउनका लागि उद्घोष ग¥यो, फलस्वरुप कार्यालयले ढिलै भए पनि खानेपानी वितरण गर्न थालेको छ । सुलभ मूल्यमा पानी वितरण गर्ने उद्देश्यअनुरुप ट्यांकर खरिद प्रक्रिया पूरा गरी गाउँपालिकाले पानी वितरण गर्न थालेको हो ।

खानेपानीको समस्या भोग्दै आएका नागरिकलाई खानेपानीको पहुँचमा पु¥याउनका लागि यो अभियानलाई तीव्रता दिन लागिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको कूल रु ४५ लाखको लागतमा ट्र्याक्टरसहितको टयाङ्कर खरिद गरेको हो । खानेपानीको गम्भीर समस्या भएका वडाको पहिचान गरी सामूहिकरुपले उक्त क्षेत्रमा खानेपानी वितरण गर्ने गाउँपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङले बताउनुभयो ।

स्थानीयले प्रतिलिटर डेढ देखि दुई रुपैयाँसम्मको दरले पानी किनेर खानुपर्ने बाध्यता थियो । तर अहिले परिवारका आवश्यकता र होटल व्यवसाय गर्न सहज भएको अध्यक्ष चेम्जोङले बताउनुभयो ।

खानेपानीको समस्या भएको कुम्मायक गाउँपालिकाका विभिन्न वडामा खानेपानीको हाहाकार छ । मेलम्चीपछि कै दोस्रो ठूलो आयोजना भनिएको तमोर लिफ्ट खानेपानी आयोजनाको काम सम्पन्न नभएसम्मका लागि स्थानीयलाई राहत दिन गाउँपालिकाले प्रतिलिटर ६० पैसामा पानी वितरण गर्न थालेपछि स्थानीय हर्षित भएका छन् ।

स्थानीय होटल व्यवसायी देवेन्द्रकुमार सम्बाहाम्फे भन्नुहुन्छ, “खानेपानी किनेर मात्रै प्रयोग गर्नुपर्ने भएकाले यो सस्तो रेटमा गाउँपालिकाले खानेपानी उपलब्ध गराएको छ ।” राम्रो काम गरेकोलाई राम्रो भन्नुपर्छ, खानेपानी वितरणको सेवा अहिले बजारमा मात्रै केन्द्रित भएको छ, त्यसलाई गाउँमा पनि केन्द्रित गर्नुपर्ने उहाँले बताउनुभयो ।

गाउँपालिकाको यासोक बजारमा मात्रै दैनिक ५० देखि ६० हजार लिटर पानी खपत हुने गरेको छ । आधारभूत आवश्यकता पूरा गर्न नसकेको उक्त खानेपानी आयोजनाले दैनिक २० हजार देखि २५ हजार लिटर पानी पनि पु¥याउनसमेत हम्मेहम्मे हुने गरेको यासोक खानेपानी सरसफाइ उपभोक्ता समिति अध्यक्ष तथा वडा नं १ का वडाध्यक्ष देवेन्द्रकुमार लावतीले बताउनुभयो । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री