शनिबार, ८ वैशाख २०८१

धर्मकर्मतिर पूर्वयुवराज पारस, कान्तिभैरव र हनुमान मन्दिरमा गरे विशेष पूजा

समयपोष्ट २०७५ वैशाख ३० गते १४:१०

पूर्वयुवराज पारस शाहले गोकर्णेश्वर नगरपालिका वडा नं ४, उत्तरबाहिनीमा रहेको कान्तिभैरव र पञ्चमुखी हनुमान मन्दिरमा विशेष पूजाआजा गर्नुभएको छ ।

Advertisement

लिच्छविकालीन पुरातात्विक महत्व बोकेको मन्दिरमा कान्तिभैरव गुरुकुलका ब्राह्मण बटुकको वैदिक मन्त्रोच्चारणसहित पूर्वयुवराज शाहले विशेष पूजा गर्नुभएको हो । गुरुकुलका आचार्य श्रीराम अधिकारीले पूजा गराउनुभएको थियो ।

उत्तरगया क्षेत्र व्यवस्थापन समितिका प्रमुख सल्लाहकार एवं कान्तिभैरव गुरुकुल सञ्चालक समिति अध्यक्ष प्रा डा ऋषिराम पोखरेलले पूर्वयुवराज शाहलाई गोकर्णेश्वर उत्तरगया एवं कान्तिभैरव र पञ्चमुखी हनुमान मन्दिर क्षेत्रको ऐतिहासिक, पुरातात्विक, धार्मिक तथा सांस्कृतिक महत्वका बारेमा जानकारी गराउनुभएको थियो ।

हिमवत्खण्डमा कान्तिश्वर नामले उल्लेख गरिएको यहाँको गुफामा योगमाया, शिवपुरी बाबा, श्यामचेतन (वासुकी) बाबा, प्रेमनारायण भण्डारीलगायतले साधना गर्नुभएको थियो । यहाँ साधना गर्नुभएका सबैको शालिक राखी यो ठाउँलाई तपस्या स्थलकारुपमा चिनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

वाग्द्वारबाट बग्दै आएको वाग्मती कान्तिभैरव मन्दिरअघि उत्तर भएर बग्ने भएकाले यो ठाउँलाई उत्तरबाहिनी भनिएको हो । वाग्मती उत्तरतिर बगेकैले यो ठाउँलाई उत्तरगया पनि भनिन्छ । यहाँ प्रत्येक महिनाको पहिलो शनिबार बेलुकी गुरुकुलका विद्यार्थीले वाग्मती गंगा आरती गर्छन् । प्रत्येक दिन गुरुकुलका बटुकले वैदिक रुद्राभिषेक गर्छन् ।

प्राकृतिक सौन्दर्यले भरिपूर्ण यो स्थललाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिनुपर्ने समितिका अध्यक्ष भैरवबहादुर श्रेष्ठले बताउनुभयो । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री