बुधबार, १९ वैशाख २०८१

आजदेखि एमडीएमएस लागू

समयपोष्ट २०८० जेठ १ गते ९:३७

Advertisement

आजबाट नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू गरेको छ ।

मोबाइल फोनको अवैध आयात, प्रयोग र बिक्रीवितरण रोक्न भन्दै प्राधिकरणले एमडीएमएस लागू गरेको हो ।

वैशाख २६ को मन्त्रिपरिषद् बैठकले एमडीएमएस प्रणाली कार्यान्वयनमा ल्याउने निर्णय गरेसँगै प्राधिकरणले शनिबार सार्वजनिक सूचना जारी गर्दै जेठ १ बाट एमडीएमएस व्यवस्था सञ्चालनमा आउने जानकारी दिएको थियो ।

प्राधिकरणले यसअघि ०७८ साउन र ०७९ भदौमा पनि एमडीएमएस प्रणाली आंशिक रूपमा लागू गरेको थियो । ०७९ पुस १५ बाट भने पूर्ण रूपमा प्रणाली लागू गर्ने भनिएको थियो । तर वैदेशिक रोजगारीबाट फर्किएका नेपाली श्रमिकले ल्याएका मोबाइल फोनको पनि कर र भन्सार शुल्क तिर्नैपर्ने व्यवस्थाका कारण यसको व्यापक विरोध भएको थियो । जनस्तरमै आलोचना भएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले तत्काल प्रणाली लागू नगर्न निर्देशन दिएका थिए ।

Advertisement

त्यसको करिब चार महिनापछि गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले वैदेशिक रोजगारीमा जानेहरूले पहिला पाइरहेको सुविधाबाहेक थप एक अर्थात् दुइटा मोबाइल फोन ल्याउन पाउने र एमडीएमएस प्रणाली लागू गर्ने निर्णय गरेको सरकारकी प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जनाएकी थिइन् । प्राधिकरणको सूचनाअनुसार व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याई भन्सार कार्यालयमा जाँचपास भएका मोबाइल सेट एमडीएमएस प्रणालीमा स्वतः दर्ता हुन्छन् ।

दुई वटा फोनमा भन्सार शुल्क नलाग्ने सुविधा विदेशबाट फर्किने जोकसैका लागि भने होइन । भन्सार विभागले आइतबार सार्वजनिक गरेको सूचनाअनुसार श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गई कम्तीमा ६ महिना लगातार काम गरेर फर्किएका नेपाली नागरिकले मात्रै दुई थान मोबाइल फोन ल्याउँदा कुनै पनि महसुल तिर्नुपर्दैन । अन्यले भने एकभन्दा बढी फोन ल्याउँदा व्यावसायिक हिसाबले फोन ल्याएसरह कर तिर्नुपर्छ । फोनको मूल्यका आधारमा २.५ प्रतिशत अन्तः शुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धि कर लाग्छ ।

यात्रुहरूले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका मालवस्तुसम्बन्धी आदेश, ०७७ बमोजिम विदेशबाट फर्किनेहरूले आफूले प्रयोग गरिरहेको एक थान मोबाइल फोनबारे भन्सार कार्यालयमा जानकारी गराइरहनु नपर्ने कार्यालयले जनाएको छ । त्यस्तो फोन प्राधिकरणको एमडीएमएस प्रणालीमा व्यक्ति स्वयंले अनलाइन माध्यमबाट दर्ता गराउन सक्ने भनिएको छ । तर वैदेशिक रोजगारीबाट फर्किएका नेपालीले थप एक थान मोबाइल फोन ल्याउँदा त्यसबारे आफू आएको भन्सार कार्यालयमा घोषणा गरी भन्सार प्रक्रिया पूरा गर्नुपर्ने भनिएको छ ।

विदेशबाट ल्याइएका मोबाइल सेट सम्बन्धित व्यक्ति स्वयंले एमडीएमएसमा दर्ता गर्न राहदानी/नागरिताका साथै आगमन र प्रस्थान छाप देखिने राहदानीको पृष्ठ वा बोर्डिङ पास पेस गर्नुपर्ने प्राधिकरणले जनाएको छ । नेपालभित्र मोबाइल खरिद गर्दा उक्त मोबाइल एमडीएमएसमा दर्ता भए/नभएको यकिन गरेर मात्र खरिद गर्न प्राधिकरणले प्रयोगकर्तालाई अनुरोध गरेको छ । मोबाइल आयातकर्ता/बिक्रेताले भने मोबाइल आयात गर्नुअघि अनिवार्य रूपमा प्राधिकरणको पूर्वस्वीकृति लिनुपर्छ । प्राधिकरणमा दर्ता भएका मोबाइल मात्रै बिक्री/वितरण गर्न नियामकले निर्देशन दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री