बिहीबार, १३ वैशाख २०८१

मुलुकलाई सुशासन र समृद्धितर्फको बहसमा केन्द्रित गर्न सफल भयौँ : ओली

समयपोष्ट २०७९ जेठ १५ गते १२:२५

Advertisement

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई सुशासन र समृद्धितर्फको बहसमा केन्द्रित गर्न सफल भएको बताउनुभएको छ । गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उहाँले आपसमा निराशा बाँडेर बस्ने हाम्रो समाजिक प्रवृत्तिलाई आफूहरुले मुलुकमा गणतन्त्र स्थापना गरेर सुशासन र समृद्धितर्फको बहसमा केन्द्रीत गर्न सफल भएको बताउनुभएको छ ।

उहाँले अघिल्लो सरकारले नयाँ संविधानले परिकल्पना गरेको सङ्घीय लोकतान्त्रिक शासन प्रणालीलाई सुदृढ गर्दै मुलुकलाई विकास र समृद्धिको बहसतर्फ अग्रसर गराएको बताउनुभयो ।

“आजको यस ऐतिहासिक दिनले मुलुकलाई जन्मसिद्ध श्रेष्ठताको सिद्धान्तमा आधारित राजतन्त्रात्मक शासकीय व्यवस्थाबाट जनताको सर्वोच्चताको प्रणालीमा रुपान्तरण गरेको थियो, मुलुकको सार्वभौमसत्ता र राजकीयसत्ताको स्रोत नेपाली जनतामा निहीत रहने ऐतिहासिक उपलब्धि हामीले हासिल गरेका थियौँ”, उहाँले सन्देशमा भन्नुभएको छ, “यस ऐतिहासिक परिवर्तनपछि मुलुकले सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासकीय व्यवस्थाको अभ्यास गरिरहेको छ ।”

अध्यक्ष ओलीले संविधानमा निहीत सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संरचनात्मक अभ्यासमा अनुवाद गरेर मुलुकमा नवनिर्माणको नयाँ युगको थालनी भएको बताउनुभयो ।

“जनादेशद्वारा स्थापित हाम्रो नेतृत्वमा भएका यस्ता युगान्तकारी कामले गणतन्त्रात्मक शासन व्यवस्थालाई सृदुढ गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो, यसले सिङ्गो राष्ट्रलाई समृद्ध नेपाल र सुखी नेपालीको गन्तव्यतर्फ अघि बढाएको थियो”, उहाँले सन्देशमा भन्नुभएको छ । उहाँले जनताको बलिदानीपूर्ण सङ्घर्षले स्थापित भएको लोकतान्त्रिक गणतन्त्रमाथि आज संविधानले परिभाषित गरेका राज्यका अङगलाई दुरुपयोग गरी संविधान र प्रणालीको अतिरिक्त व्याख्या तथा अपव्याख्याद्धारा प्रहार गर्ने कामसमेत भइरहेको उल्लेख गर्नुभयो ।

“संविधानमाथि प्रहार गर्दा मुलुकको दुरगामी यात्रालाई अल्मल्याउँदै संविधान र संवैधानिक संस्थाप्रतिको जनताको आस्थामाथि समेत चोट पु¥याएको छ”, उहाँले सन्देशमा भन्नुभएको छ, “आज मुलुकको विकासमा सम्पूर्ण काममा अल्पविराम लागेका छन् र केही वर्षयता सुरु भएको विकासको राष्ट्रिय बहसको ठाउँ सत्ताशक्तिको अनुचित भागबण्डा, लेनदेन र राज्यस्रोतको दोहनको लिएको छ ।”

उहाँले एमाले देशभक्तिपूर्ण, लोकतान्त्रिक, परिवर्तनकारी, विकासमुखी र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आंकाक्षा पूरा गर्ने सङ्कल्प बोकेको पार्टी रहेको भन्दै राष्ट्रको यस आकांक्षालाई पूरा गरेर लोकतान्त्रिक गणतन्त्रलाई जनअनुभूतिबाट प्रमाणित गर्न चाहेको बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री