मंगलबार, ११ वैशाख २०८१

नुवाकोटबाट बाइकमै टेकु अस्पताल आइपुगे संक्रमित

समयपोष्ट २०७७ जेठ १२ गते ८:१०

Advertisement

 विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमितको उद्दारमा ढिलाई हुँदा आफैं अस्पताल गएका छन्।

उद्दारका लागि एम्बुलेन्स नगएपछि संक्रमित आफैं मोटरसाइकल चलाएर काठमाडौं पुगेका हुन्। ‘हामीसँग एम्बुलेन्स थिएन, उनको उद्धारका लागि सम्भावित सबैतीर एम्बुलेन्स पठाउन अनुरोध गरियो। तर, कोही आएनन्’, ककनी गाउँपालिकाकी उपाध्यक्ष सीता खतिवडाले भनिन्।

उनका अनुसार पीसीआर परीक्षणको रिपोर्ट पोजिटिभ आएका नुवाकोट ककनी गाउँपालिकाका कोरोना संक्रमित आफैँ मोटरसाइकल चलाएर काठमाडौंको टेकु अस्पताल पुगेका हुन्। संक्रमित फेला परेपछि चाउथेको ढुंगानागाउँ सिल गरिएको उपाध्यक्ष खतिवडाको भनाइ छ।

जिल्ला स्वास्थ्य कार्यालयसँग सिल गरिएको ढुंगानागाउँका सबै घरका सदस्यको पीसीआर परीक्षण गर्न माग गरिएको छ। संक्रमित पुरुषका परिवारमासमेत १५ जना भन्दा बढी नातेदार छन्। संक्रमित पुरुष ककनी-३ चाउथे ढुंगानागाउँका हुन्। उनी सक्रिय राजनीतिक कार्यकर्ता  हुन्। उनी अधिकांश समय काठमाडौं र गाउँ ओहोरदोहोर गरिरहन्थे।

उनलाई आइतबार कोरोना संक्रमण पुष्टि भएको जानकारी आएको थियो। तत्काल उनी स्वास्थ्य सुरक्षाका साथ अस्पताल जान तयार भएर बसे पनि कतैबाट पनि एम्बुलेन्स तथा अन्य साधन नआएपछि आफैँले मोटरसाइकल चलाएर अस्पताल गएका हुन्।

नुवाकोट जिल्ला अस्पताल त्रिशूली, टेकु अस्पताल काठमाडौं महानगरपालिकालगायतका ठाउँमा एम्बुलेन्सका लागि टेलिफोन गरे पनि उपलब्ध नभएपछि उनी आफैं मोटरसाइकल चलाएर काठमाडौं पुगेका हुन्।

उनलाई कहाँबाट कोरोना संक्रमण भयो भन्ने खुलेको छैन। उनी गाउँबाट काठमाडौं आउजाउ गरिरहन्थे। उनी एउटा राजनीतिक दलको बागमती प्रदेश सदस्यसमेत हुन्। नुवाकोटको ककनी- ३ काठमाडौंसँग सीमा जोडिएको क्षेत्र हो। ककनीबाट काठमाडौं पुग्दा उनलाई दुई घण्टा लागेको थियो। यो समाचार आजको अन्नपूर्ण पोष्टमा देवचन्द्र भट्टले लेखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री