शनिबार, ८ वैशाख २०८१

आरडिटी किटमा कोरोना पोजेटिभ देखाउने क्षमता ५० प्रतिशत मात्रै

समयपोष्ट २०७७ जेठ १० गते ७:३५

Advertisement

सरकारले कोरोना भाइरसको परीक्षणलाई व्यापक बनाउने उद्देश्यसहित हालै निजी स्वास्थ्य संस्थाहरूलाई पनि आरडिटी परीक्षणको बाटो खुला गरेको छ । तर, सरकारमातहतको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले भने उपचार प्रक्रियामा आरडिटी परीक्षण गर्न नमिल्ने प्रतिवेदन सरकारलाई बुझाएको छ ।

आरडिटी किटको विश्वसनीयतामाथि संसारभर प्रश्न उठेपछि स्वास्थ्य मन्त्रालयले प्रभावकारिता अध्ययन गर्न परिषद्लाई जिम्मा दिएको थियो । परिषद्ले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालगायतका निकाय तथा विज्ञहरूसमेत सहभागी गराएर अध्ययन–अनुसन्धान गरेको थियो । जसले आरडिटी किट अध्ययन–अनुसन्धान गर्न मिल्ने, तर उपचारको प्रक्रियामा प्रयोग गर्न नमिल्ने निष्कर्ष निकालेको छ । परिषद्ले बुझाएको प्रतिवेदन स्वास्थ्य मन्त्रालयले भने गोप्य राखेको छ ।

अनुसन्धानमा संलग्न परिषद्का एक अधिकारीका अनुसार आरडिटी किटमा कोरोना पोजेटिभ देखाउने क्षमता ५० प्रतिशत मात्रै देखिएको छ । तर, नेगेटिभ केसमा भने राम्रो रिपोर्ट दिएको छ । त्यही भएर विश्व स्वास्थ्य संगठनको मान्यता र अनुसन्धानको निचोडअनुसार आरडिटी किट उपचारका रूपमा प्रयोग गर्न नमिल्ने निष्कर्षसहितको प्रतिवेदन सरकारलाई बुझाएको उनले बताए । आजको नयाँ पत्रिकामा अर्जुन अधिकारीले यो समाचार लेखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री