सोमबार, १७ वैशाख २०८१

वीर्यमा देखियो कोरोना, यौनसम्पर्कबाट फैलिन सक्ने खतरा

समयपोष्ट २०७७ वैशाख २७ गते ६:२३

Advertisement

कोरोना भाइरसको संक्रमणबाट निको हुन थालेका संक्रमितको वीर्यमा कोरोना भाइरस भेटिएको छ । यो सँगै कोरोना भाइरसको संक्रमण यौनसम्पर्कबाट पनि फैलिन सक्ने सम्भावना देखिएको छ ।

चिनियाँ चिकित्सक तथा अनुसन्धानकर्ताहरुले केही कोरोना भाइरस डिजिज (कोभिड-१९) संक्रमितहरुको वीर्यमा कोरोना भाइरस देखिएको बताए।  संक्रमितको वीर्य परीक्षण गरेका उनीहरुले यसले यौनसम्बन्धको माध्यमबाट पनि यो भाइरस सर्न सक्ने सम्भावना जीवित बनाएको बताए।

चीनको शाङ्क्वी नगर अस्पतालमा रहेका ३८ संक्रमितको अध्ययन गर्दा ६ जना अर्थात करिब १६ प्रतिशतको वीर्यमा सार्स-सिओभी-टू (कोभिड-१९ को संक्रमण गराउने भाइरस) पोजेटिभ देखिएको थियो।

अनुसन्धानकर्ताहरुले यो प्रारम्भिक नतिजा भएको र थोरै मानिसहरुमा मात्रै आधारित भएकाले कोभिड-१९ पान्डेमिकमा यौन प्रसारणले भूमिका खेलेको छ छैन बुझ्न अझ धेरै अनुसन्धान आवश्यक रहेको बताएका छन्।

‘वीर्यमा भाइरसको बहाव, जीवित रहन सक्ने समय तथा घनत्वको बारेमा विस्तृत जानकारी पाउँन अझ धेरै अनुसन्धानको खाँचो छ,’ अमेरिकन मेडिकल एसोसिएसनको जर्नलमा अनुसन्धानकर्ताहरुको टोलीले लेखेको छ।

‘यदि सार्स-सिओभी-टू यौन सम्बन्धबाट सर्ने प्रमाणित भयो भने यसको रोकथाम तथा नियन्त्रण गम्भीर बन्नेछ’, अनुसन्धानकर्ताहरुले भनेका छन्, ‘विशेषगरी निको भइसकेका संक्रमितको वीर्यमा सार्स-सिओभी-टू देखिएकाले यो निकै गम्भीर विषय बनेको छ।’

अन्य स्वतन्त्र अनुसन्धानकर्ताहरुले यो नतिजा महत्वपूर्ण भएपनि यसलाई सावधानीका साथ हेरिनुपर्ने बताउँछन्। उनीहरुले वीर्यमा कोरोना भाइरस नदेखिएका अन्य अध्ययनहरुलाई पनि नजरअन्दाज गर्न नमिल्ने बताएका छन्।

गत फेब्रुअरी र मार्चमा १२ जना कोभिड-१९ संक्रमितहरुमा गरिएको एउटा अध्ययनले उनीहरुको वीर्यमा सार्स-सिओभी-टू नेगेटिभ आएको देखाएको थियो।

बेलायतको शेफिल्ड युनिभर्सिटीका एन्ड्रोलोजी प्रोफेसर एलान पेसीले वीर्यको अध्ययनका क्रममा प्राविधिक कठीनाई देखिएकाले यो अध्ययनलाई नै निर्णयक रुपमा हेर्न नहुने बताए। वीर्यमा सार्स-सिओभी-टू देखिँदैमा यो सक्रिय तथा संक्रमित गराउन सक्ने अवस्थामा छ भन्न सकिँदैन।

‘संक्रमितको वीर्यमा कोभिड-१९ को भाइरस देखिँदैमा ससंकित हुनु जरुरी पनि छैन किनकी यसअघि इबोला तथा जिका भाइरसको केसमा पनि यस्तो देखिएको थियो,’ उनले भने।

उत्तरी आयरल्यान्डको बेलफास्टस्थित क्विन्स युनिभर्सिटीकी रिप्रोडक्टिभ मेडिसिन प्रोफेसर शिना लिविसले यो अध्ययन निकै साँघुरो भएको बताउँदै यसको नतिजा र अन्य अध्ययनको नतिजालाई सँगै राखेर हेर्दा वीर्यमा न्यून वा शून्य मात्रामा सार्स-सिओभी-टू देखिएको बताइन्।

‘तर, पुरुषको प्रजनन् क्षमतामा सार्स-सिओभी-टूले पार्ने दीर्घकालिन असरको बारेमा भने हामी अनभिज्ञ छौँ,’ उनले भनिन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री