सोमबार, १७ वैशाख २०८१

नेपालमा एकैदिन १६ जनामा कोरोनाभाईरसको संक्रमण पुष्टि, ७५ पुगे संक्रमित

समयपोष्ट २०७७ वैशाख २१ गते २०:५०

Advertisement

नेपालमा एकैदिन १६ जनामा कोरोनाभाईरसको संक्रमण देखिएको छ । आइतबार तीनदिन पहिले भेटिएका ६० वर्षीय कोरोना भाइरस संक्रमितको सम्पर्कमा रहेका १५ जनामा संक्रमणको पुष्टि भएको हो ।

मस्जिद र मदरसामा कोरोना भाइरसपरीक्षण गर्ने क्रममा अन्सारी मस्जिदमा अजन पठाउने ६० वर्षको व्यक्तिमा संक्रमणको पुष्टि भएको थियो । उनको कन्ट्याक ट्रेसिङका क्रममा परिवारका सदस्य, आफन्त र महेन्द्र पार्कको मुस्लिम बस्तीका ९० जनाको थ्रोट स्वाब संकलन गरी भेरी अस्पतालस्थित पीसीसआर ल्याबमा परीक्षण गरिएको थियो । त्यसमध्ये ३० वटा नमुना परीक्षण गर्दा ९ जनामा संक्रमण देखिएको थियो । आइतबार साँझ नै थप ३० जनाको परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी आजै
पर्सामा १ जना गरी नेपालमा एकै दिन कोरोना संक्रमितको संख्या १६ पुगेको छ ।

योसँगै नेपालमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ७५ पुगेको छ । सङ्क्रितमध्ये हालसम्म १६ जना उपचारपछि स्वस्थ्य भएर घर फर्किसकेका छन् । बाँकी सङ्क्रमितको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

सरकारले ६३ हजारभन्दा बढी सम्भावित कोभिड–१९ का सङ्क्रमितको स्वास्थ्य परीक्षण गरेको छ । पिसिआर र आरडिटीमार्फत हालसम्म ६१ हजार १०२ को स्वास्थ्य परीक्षण गरिएको छ । त्यसमध्ये पिसिआर विधिबाट १३ हजार ४१४ र आरडिटीमार्फत ४९ हजार ६८८ व्यक्तिको परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा मात्रै एक हजार ४६७ को परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार प्रदेश नं १ मा पाँच हजार ४९९, प्रदेश नं २ मा पाँच हजार ७०९, वाग्मती प्रदेशमा आठ हजार ५१५, गण्डकी प्रदेशमा पाँच हजार ८३४, प्रदेश नं ५ मा चार हजार ४९२, कर्णाली प्रदेशमा पाँच हजार ५६७ र सुदूरपश्चिम प्रदेशमा १४ हजार ७२ आरडिटी परीक्षण गरिएको छ । हाल काठमाडौँमा चार र उपत्यकाबाहिर ७३ गरी ७७ शङ्कास्पद व्यक्तिलाई आइसोलेशनमा राखेर निगरानी भइरहेको छ ।

आज मुलुकभर २१ हजार ९५१ व्यक्ति क्वारेन्टाइनमा रहेका छन् । सबैभन्दा बढी प्रदेश नं ५ मा १० हजार ६६७ व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको छ । प्रदेश नं १ मा दुई हजार ६१८, प्रदेश नं २ मा एक हजार ३३७, वाग्मती प्रदेशमा ४४०, गण्डकी प्रदेशमा ६२६, कर्णाली प्रदेशमा तीन हजार ७८ व्यक्ति क्वारेन्टाइनमा रहेका मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।

मन्त्रालयले कल सेन्टरमा एक हजार ११९ कलको सम्बोधन गरिएको जनाएको छ । अहिले स्वमूल्याङ्कन विवरण बुझाउनेको सङ्ख्या २९ हजार ९८४ पुगेको छ । हाल ३२१ जना रेड जोनमा रहेका र उनीहरूलाई ट्रेसिङ गर्ने कार्य जारी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री