शुक्रबार, २ साउन २०८२

लाभ कर कानुनअनुसार नभएको भन्दै एनसेलले सर्वोच्चमा हाल्यो रिट, १४ अर्ब ३६ करोड मात्र तिर्न बाँकी रहेको दाबी

समयपोष्ट २०७६ वैशाख ९ गते १४:४४

नेपालको नीजि दुरसञ्चार प्रदायक कम्पनी एनसेलले ठूला करदाता कार्यालयबाट आफूलाई निर्धारण भएको पुँजीगत लाभ कर कानुनअनुसार नभएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट हालेको छ ।

कार्यालयले कर तिर्न दिएको सात दिने म्याद सकिने अघिल्लो दिन सोमबार एनसेलले सर्वोच्चमा रिट हालेको हो ।

वैशाख ३ गते कार्यालयले एनसेलले तिर्नुपर्ने बाँकी पुँजीगत लाभकर ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रूपैयाँ निर्धारण गरेको थियो । सोही दिन उसले सात दिनभित्र कर तिर्न एनसेललाई सूचना पठाएको थियो ।

टेलियासोनेरा कम्पनीले मलेसियाको एक्जियटा कम्पनीलाई एनसेलको ८० प्रतिशत सेयर स्वामित्व बेच्दा भएको पुँजीगत लाभको कर एनसेल र एक्जियटालाई तिराउने फैसला सर्वोच्च अदालतले गत माघमा दिएको थियो ।

फैसलाको पूर्ण पाठ नआउन्जेल सरकारले एनसेलले तिर्नुपर्ने कर निर्धारण गरेको थिएन । गत साता सर्वोच्च उक्त फैसलाको पूर्ण पाठ दिँदै तीन महिनाभित्र एनसेलबाट पुँजीगत लाभकर उठाउन सरकारलाई भनेको थियो ।

एनसेलले अब १४ अर्ब ३६ करोड ५३ लाख ७० हजार ६०० रुपैयाँ मात्र कर दिनपर्नु दाबी गरेको छ । एनसेलका अनुसार विक्री मूल्य १ खर्ब ४४ अर्ब ७८ करोड २५ लाख ६ हजारमा खरिद गर्दाको लागत १ अर्ब १२ करोड ८८ लाख घटाउँदा कायम हुने १ खर्ब ४३ अर्ब ६५ करोड ३७ लाख ६ हजारमा मात्र पुँजीगत लाभकर लाग्छ ।

यसको २५ प्रतिशत पुँजीगत लाभकर ३५ अर्ब ९१ करोड ३४ लाख २६ हजार ५०० हुन्छ । आफूले २६ वैशख २०७५ मा ९ अर्ब ९६ करोड ९५ लाख ७१ हजार ४० र २१ जेठ २०७४ मा ११ अर्ब ५७ करोड ४८ लाख ८४ हजार ८६० गरी २१ अर्ब ५४ करोड ८० लाख ५५ हजार ९०० भुक्तानी गरिसकेकाले २५ प्रतिशतको बाँकी १४ अर्ब ३६ करोड ५३ लाख ७० हजार ६०० मात्र बुझाउँदा पुँजीगत लाभकरको विषयले पूर्णता पाउनु पर्ने एनसेलको तर्क छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री