अब रैथाने जातका भैँसी लोप हुदै


जिल्लाभरिमा कुनैबेला घरैपच्छिे देखिने भैँसी हिजोआज क्रमिकरुपमा लोप हुँदै जान थालेका छन् । पछिल्लो समय उन्नत जातका गाई भित्रिदै गएपछि यहाँका स्थानीयले भैँसी पाल्न छोडेका हुन् ।

पहिले पहिले एउटै घरमा पाँच/छ वटा भैँसी पाल्ने गरे पनि अहिले मुस्किलले मात्रै एउटा भैँसी पनि देखिने गरेको सायल गाउँपालिकाका दीर्घराज ओझाले बताए । उनले भने, “पहिले गाउँमा प्रत्येकका घरमा पाँच/छ वटा भैँसी हुन्थे अहिले त मुस्किलले एक मात्रै भैसी भेटिने गरेका छन् ।” गाउँका स्थानीयले भैँसी पाल्न क्रमिकरुपमा छाड्न थालेपछि यहाँ दुग्धजन्य पदार्थमा पनि कमी आउन थालेको छ ।

Advertisement

यहाँका गाउँबाट दूध आउन बन्द हुँदा बजारमा रहेका होटेल, चिया पसलले दूधका लागि जिल्ला बाहिरबाट प्याकिङ गरेको दूध मगाउन बाध्य भएका रामजानकी मिष्ठान्न भण्डार दिपायल पिपल्लाका व्यापारी शीतल यादवले बताए । उनले भने, “हामीले मागे जति दूध गाउँबाट आउँदैन, दूध नआएपछि अन्य जिल्लाबाट दूध मगाएर व्यापार गर्न बाध्य छौँ ।”

भैँसीबाट सोचेअनुरुप उत्पादन लिन नसकिने र उत्पादन लिन लामो समय पर्खनुपर्ने हुँदा जिल्लामा यतिखेर भैँसी पाल्ने किसानको सङ्ख्या घट्दै गएको शिखर नगरपालिका मरकट्टेका भैँसी पालक किसान रामबहादुर महराले बताए । उनले भने, “सबै क्षेत्रमा सामुदायिक वन भएका छन्, भैँसी पाल्न निकै कठिन हुने भएकाले अधिकांशले भैँसी पाल्न छाड्ने गरेका कारण भैँसी लोप हुने अवस्थामा पुगेका हुन् ।”

पछिल्लो समय यहाँका भैँसीमा लाग्ने खरी, खोरेत र भ्यागुते रोगका कारण र भैँसीको स्याहारसुसारका लागि बढी मेहनत गर्नुपर्ने तथा दूधको बजार पनि राम्रो नभएकाले भैँसीपालन व्यवसाय सङ्कटमा परेको भैसी किसानको गुनासो छ ।

डोटीमा मात्र नभइ सुदूरपश्चिमका अन्य पहाडी जिल्ला डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ र अछामलगायतका जिल्लामा भैँसी लोप भइरहेका छन् । मुख्य गरी तराई क्षेत्रमा मासुका लागि राँगा भैँसी प्रयोग हुने गरेकाले पनि पहाडी क्षेत्रमा रहेका भैसी तराई निर्यात भइरहेका दिपायलका दीर्घबहादुर बोगटीले बताए । उनले भने, “चरन अभावसँगै, दलालले मासुका लागि तराई लैजान सस्तोमा थारो भैँसी किन्न थालेका कारण भैसी लोप हुने समस्या देखिएको हो ।”

Advertisement

सरकारले पशु र पशुजन्य पदार्थको उत्पादनमा वृद्धि गरी पशुपालनलाई व्यवसायीकरण गर्ने उद्देश्यले ल्याइएको पशु बीमा कार्यक्रमबाट देशका विभिन्न जिल्लाका भैँसीपालक किसानलाई भैँसी सुत्केरी भत्ता दिँदै आए पनि यहाँ भने त्यो कार्यक्रम लागू नभएकाले भैँसी पाल्न छोड्ने गरेको स्थानीयवासी बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री