राजनीतिसँगै कृषिमा पनि सक्रिय


पेमा लामा
खानीखोला गाउँपालिका–२ फलामेटार घर भएका मीना पाख्रिनका यतिबेला काउली बन्दा र गोलभेँडा स्याहार्दैमा दिन बितिरहेका छन् । पनौती नगरपालिका–८ नयाँबस्ती बगरमा रहेको कृषि फार्ममा उत्पादन गरेका तरकारी खेतीमा लगाएको काउली, बन्दा र गोलभेँडाका बोट स्याहार्दैमा दैनिकी बितिरहेको उनले बताए ।

उनी दुई वर्ष अगाडिदेखि राजनीतिलाई कम समय दिएर कृषि पेशालाई अंगाल्दै अर्थोपार्जनमा लागेका हुन् । यतिबेला उनी फार्ममा रोपेको गोलभेँडाको बोटमा पानी हाल्नेलगायतको आलु बालीको रेखदेख गर्ने र त्यही खेती गरेको काउली, बन्दा, टमाटर, धनियाँलगायतका तरकारी स्याहार गर्ने र बजारीकरणमा व्यस्त बनेका छन् ।

Advertisement

विसं २०५५ देखि जनयुद्धमा लागेर राजनीतिक जीवन शुरु गरेका उनी तत्कालीन नेकपा माओवादी केन्द्रका मकवानपुर जिल्ला सहसेक्रेटरी र कोषाध्यक्ष हुँदै काभ्रेपलाञ्चोक जिल्ला कमिटीका सदस्य हुन् । हाल नेकपाका जिल्ला सदस्य रहेका उहाँले पछिल्लो समयमा राजनीतिक गतिविधि कम हुँदै गएपछि अर्थोपाजर्नका लागि कृषि पेशालाई अंगालेको बताए ।

हाल उनी बेथानचोक गाउँपालिका–१ च्याम्राङबेँसीका रमेश स्याङ्तानसहितको साझेदारीमा पनौती कृषि फार्म दर्ता गरी तरकारी खेतीमा लागेका हुन् । “करीब १६ रोपनी जग्गामा तरकारी खेती गरिरहेको छु”, उनले भने, “विगतमा जस्तो पूर्णकालीन भएर राजनीति गर्ने अवस्था छैन, त्यसैले जीविकोपार्जनका लागि कृषि पेशामा आबद्ध भएर काम गरिरहेको छु ।”

पार्टीको जिम्मेवारीमा रहे पनि आवश्यक परेका बेलामा फार्ममा अरुलाई जिम्मा दिएर कार्यक्षेत्रमा खट्ने र फुर्सदको बेलामा आफैँ काम गर्ने गरेको उनको भनाइ छ । त्यसरी काम गर्दा तरकारी पनि किन्नु नपर्ने, खर्च पनि बच्ने र अरु थप आम्दानी पनि हुने भएकाले अहिले परिवार चलाउन धेरै सहज भएको उनले बताए । “अहिलेसम्म लगानी नै भइरहेको छ, अब रोपेको तरकारी बजारमा बिक्री भएपछि लगानी उठ्छ भन्ने आशामा छौँ”, उनले भने, “परम्परागत तरिकाले गरेको खेतीले लगानी उठाउन सकिँदैन, त्यसका लागि आधुनिक तरिकाले कसरी खेती गर्ने भन्ने विषयमा कृषिबाट सात दिने र १५ दिने तालीम लिएर फार्म सञ्चालन गरेको हुँ ।”

पार्टीले पनि उत्पादनमा जोड दिने कार्यदिशा अगाडि सारेको र सरकारले पनि आर्थिक समृद्धिको नारालाई अगाडि सारेको अवस्थामा आफैँ पनि त्यसमा सहभागी हुनुपर्छ भन्ने लागेर कृषि पेशामा लागेको उहाँको भनाइ छ । आठ वर्षसम्म गाडी चालकको काम गरिसक्नुभएका फार्मका अर्का सञ्चालक रमेश स्याङ्तान अहिले त्यसलाई छाडेर तरकारी खेतीमा लागेको दुई वर्ष भयो ।

Advertisement

“गाडी चलाउँदा एक्लैले काम गरेर परिवार पाल्नु पथ्र्यो, यो पेशामा लागेपछि परिवारको सबै उत्पादनमा सँगसँगै लाग्न मिल्ने भएकाले कृषि पेशा शुरु गरेको हुँ”, उनले भने, “ड्राइभिङ पेशाभन्दा तरकारी खेती धेरै सजिलो लाग्यो ।” गाडीमा जोखिम हुने भएकाले कृषि पेशामा लागेको उनको भनाइ छ । नगरपालिकाको कृषि शाखामार्फत तीन दिने तरकारी खेतीसम्बन्धी तालीमसमेत लिएका उनले गाडी लाइनमा भन्दा पनि कृषि क्षेत्रमा फाइदा भएको बताए ।

हालसम्ममा करीब रु १२ लाख लगानी भइसकेको उनीहरुको भनाइ छ । वर्षको करीब रु एक लाख ५० हजार तिर्ने गरी पाँच वर्षको लागि जग्गा भाडामा लिएर काम गरिरहेको छ । उत्पादन भएको तरकारी पनौती र बनेपालगायतका बजारमा पसल/पसलमा गएर बिक्री गर्ने गरेको उनीहरुले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री