कर्णाली प्रदेशमा ‘कारागारमा किताब अभियान’
शुरबहादुर सिंह/लक्ष्मी भण्डारी
कर्णाली प्रदेशका १० जिल्लामा ‘कारागारमा किताब अभियान’ कार्यान्वयन तहमा जाने भएको छ । प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक महेशविक्रम शाहले आज पत्रकार सम्मेलनमार्फत पुस्तक अभियानका बारेमा जानकारी गराएका हुन् ।
हुम्ला र मुगुमा कारागार नभए पनि बाँकी आठ जिल्लाका कारागारका लागि आठ हजार ३८८ पुस्तक सङ्कलन गरिएको शाहले जानकारी दिए । “प्रदेशस्तरबाट चार हजार २८२ र जिल्लास्तरबाट चार हजार १०६ पुस्तक सङ्कलन गरिएको छ”, उनले भने । सङ्कलित पुस्तकबाट यही चैत २३ गते १० जिल्लामा एकसाथ पुस्तकायलय स्थापना गरिनेछ । पुस्तकालयको सुर्खेतमा सामाजिक विकासमन्त्री दल रावलले उद्घाटन गर्ने कार्यक्रम छ । हाल रु दुई लाख बराबरको पुस्तक सङ्कलन गरिएको छ । प्रदेशस्तरबाट रु नौ लाख ६८ हजार तथा जिल्लास्तरबाट रु ११ लाख ४० हजारको पुस्तक सङ्कलन गरिने छ । नेपाल लाईब्रेरी फाउण्डेसन, जर्नेल संरक्षणमञ्च र अञ्जु पन्त फाउण्डेसनले पनि पुस्तक सहयोग गर्ने प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
प्रदेशका सुर्खेत, दैलेख, जाजरकोट, सल्यान, रुकुम पश्चिम, कालीकोट, जुम्ला र डोल्पा कारागारमा पुस्तकालय स्थापनाका लागि पुस्तक राखिएको छ । हुम्ला र मुगुमा कारागार भवन हस्तान्तरण नभएकाले प्रशासन र प्रहरीकै कार्यकक्षमा पुस्तकालय स्थापना गर्नेगरी तयारी भइरहेको छ । अभियानअन्तर्गत प्रदेशमा १७ सदस्यीय ‘कारागारलाई किताब अभियान’ समिति गठन गरिएको छ भने प्रत्येक जिल्लामा पनि उपसमिति गठन भएका गरिएको छ ।
प्रतिक्रिया