बिहीबार, १३ वैशाख २०८१

बैशाख १५, १६ र १७ गते ‘बैंकिङ एक्स्पो’ हुँदै, उद्यमशिलतामा लाग्न चाहानेका लागि उपयोगी हुने

समयपोष्ट २०७४ वैशाख ११ गते १३:२१

आगामी बैशाख १५, १६ र १७ गते काठमाडौंको भृकृटीमण्डपमा बैंकिङ एक्सपो हुने भएको छ । नेपाल राष्ट्र बैंक, बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसियसन, माइक्रो फाइनान्स डेभलपमेन्ट बैंकर्स एसोशियसन लगायतका संस्थाको सहकार्यमा एक्स्पो हुन लागेको हो । 
नेपाल राष्ट्र बैंक गभर्नर कार्यालयका उपनिर्देशक विभु प्रसाद अर्यालले नेपालमा पहिलो पटक बैंकिङ एक्स्पो हुन लागेको भन्दै बैंक सम्बन्धि सूचनाका लागि मेला प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन् । सबै बैंकका बारे एकैठाउँमा अध्ययन गर्न सकिने हुँदा यसले बैंकिङ सूचना प्राप्तिमा महत्वपूर्ण भूमिका रहने उनले बताए ।
बैंकर्स संघका कार्यसमिति सदस्य अशोक शेरचनले बैंकिङ क्षेत्रका बारे बुझ्न, जान्न र बैंकिङ कर्जाबाट उद्यमी बन्नका लागि यो महत्वपूर्ण अबसर भएको बताएका छन् । उनले बैंकका नयाँ स्कीम एवं नयाँ प्रविधिबारे पनि तिनदिने मेलामा जानकारी गराइने उल्लेख गरे । बैंक, शेयर बजार र बीमाको एकै ठाउँमा सूचना प्राप्ति हुने हुँदा उद्यमशिलतामा लाग्न चाहानेका लागि बैंकिङ एक्सपो निकै उपयोगी हुने शेरचनले बताए ।
डेभलपमेन्ट बैंकर्स एशोसियसनका प्रथम उपाध्यक्ष राजेन्द्र पौडेलले बर्तमान अबस्थामा बैंकिङ क्षेत्र नै अर्थतन्त्रको संबाहक भएको भन्दै यस कार्यक्रमले देशमै केही गर्छु भन्नेका लागि धेरै फाइदा पुग्ने बताएका छन् । उनले बैंकिङ पहुँच र वित्तीय चेतना अति महत्वपूर्ण भएको भन्दै यसबारे धेरै कुरा जानकारी लिन यो कार्यक्रम सार्थक हुने उल्लेख गरे । त्यसैगरी माइक्रो फाइनान्स डेभलपमेन्ट बैंकर्स संघका कार्यबाहक अध्यक्ष रामचन्द्र जोशीले पहिलो पटक आयोजना हुन लागेको यो कार्यक्रम बैंक र शेयर बजारमा प्रभावकारी हुने अपेक्षा गरे ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री