शुक्रबार, १४ वैशाख २०८१

नेपालको विकासको लागि प्रधानमन्त्री मोदीजीले ठूलो चिन्ता लिनुभएको छ : भारतीय नेता जोली

समयपोष्ट २०७३ चैत २८ गते १३:१४

भारतीय जनता पार्टीका प्रभावशाली नेता एवम् नेपाल मामिलाका जानकार विजय जोलीले सबै दलको सहमतिमा नै स्थानीय तहको निर्वाचन गर्नुपर्ने सुझाव दिएका छन् । 
दुई दिने नेपाल भ्रमणमा आएका जोलीसँग सोमबार रिपोर्टर्स क्लब नेपालले गरेको विशेष साक्षात्कारमा बोल्दै नेता जोलीले यस्तो सुझाव दिएका हुन् । उनले भने,‘नेपालमा स्थानीय तहको निर्वाचनको अति आवश्यक छ, सकेसम्म सबै दलहरुवीचको सहमतिमा नै चुनाव भए राम्रो हुन्छ ।’ उनले लोकतन्त्र मजबुद बनाउनको लागि पनि चुनाव अपरिहार्य रहेको जिकिर गरे । 
नेता जोलीले सबै दलहरु आपसी समझदारीका आधारमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई समेत संस्थागत गर्नको लागि निर्वाचनमा सहभागी हुनुपर्ने जोड दिए । उनले भने,‘प्रधानमन्त्री प्रचण्डजी, देउवाजी, ओलीजी, थापाजी, गच्छदारजी र महन्थ ठाकुरजी सबैले आपसी समझदारी गरेर चुनावमा जानुपर्छ ।’
जोलीले नेपाल बसाईको क्रममा आफूले प्रधानमन्त्री दाहाललाई समेत भेट गरेको उल्लेख गर्दै भने,‘उहाँलाई म बधाई दिन चाहन्छु, उहाँले मलाई अवगत गराउनुभएको छ, संविधान संशोधन प्रस्ताव(सबैको सहमतिमा) ल्याउँदैछु भन्नुभएको छ, नेपालमा अहिले लोकतन्त्रको सुर्य उदाएको छ, राजतन्त्रको सुर्य अन्त्य भएको छ ।’
उनले भारत सँधै नेपाल सशक्त, स्थायित्व र आर्थिक रुपमा समृद्ध भएको हेर्न चाहने बताउँदै आगामी दिनमा समेत आपसी समझदारी र विश्वासका आधारमा सम्बन्ध थप अघि बढ्ने बताए । जोलीले थपे,‘नेपाल–भारत सम्बन्ध आपसी समझदारी र विश्वासका आधारमा अघि बढ्छ, बराबरीको आधारमा अघि बढ्छ ।’
त्यस्तै उनले पछिल्ला दिनहरुमा नेपाल–भारत सम्बन्ध अत्यन्तै सुमधुर रहेको र नेपालको विकासमा भारतको सहयोग सँधै उच्च रहने विश्वास दिलाए । उनले नेपालको लोडसेडिङ् अन्त्यको लागि समेत भारतले सहयोग गरेको बताउँदै भने,‘अहिले नेपालमा लोडसेडिङको समस्या छैन, भारतबाट नेपालमा ३४० मेगावाट विजुली ल्याईएको छ, भने नेपालको विद्युत प्राधिकरणले समेत आन्तरिक रुपमा १ सय मेगावाट प्रबन्ध गरेको छ, यो नेपाली जनता र यहाँका उद्योग व्यवसायीहरुको लागि खुशीको कुरा हो ।’ उनले लोडसेडिङ्को व्यवस्थापनले आम मानिसहरुको व्यवधान कम भएको स्पष्ट पारे । 
उनले नेपालमा स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि आर्थिक विकासले गति लिने विश्वास लिए । नेता जोलीले भने,‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजीले पनि नेपालको विकासको लागि ठूलो चिन्ता लिनुभएको छ, उहाँले पछिल्ला दुई अढाई वर्षयता उहाँले नेपाल भ्रमण गर्नुभयो, र प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ, उहाँले नेपालको विकासको लागि आँफैले व्यक्तिगत रुपमा पहलकदमी लिनुभएको छ, यो खुशीको कुरा हो ।’
उनले हालै काठमाडौंमा सम्पन्न भएको लगानी सम्मेलनमा समेत भारतीय वित्तीय मन्त्री अरुण जेट्लीले सहभागी जनाएर गएको कुरा स्मरण गराउँदै भने,‘उहाँले नेपालमा भारतीय सरकारी कम्पनीद्धारा निर्माणधिन अरुण तेस्रो पूरा गर्नको लागि निर्देशन दिनुभएको छ ।’
जोलीले नेपाललाई भारतले सँधै शक्तिशाली भएको हेर्न चाहेको उल्लेख गर्दै नेपालमै आर्थिक समृद्धि हाँसिल भए यहाँका नौ जवानहरु विदेशिनुपर्ने अवस्थाको अन्त्य हुने विश्वास दिलाए । त्यस्तै उनले नेपालको आन्तरिक राजनीतिमा भारतले कहिल्यैपनि हस्तक्षेप नगरेको दाबी गरे । 
नेपाल बसाईको क्रममा आजमात्रै उनले नेपालका लागि भारतीय राजदुत मञ्जीव सिंह पुरीसँग भेटवार्ता गरेको जनाए । उनले भने,‘राजदुत महोदयसँग मेरो आज विहान भेटवार्ता भएको छ, उहाँले नेपालको विकासको लागि काम गर्ने गरम प्रतिबद्धता व्यक्त गर्नुभएको छ, भारतले गरेको प्रतिबद्धतालाई कार्यान्वयन गर्ने विश्वास मलाई दिलाउनुभएको छ ।’
जोलीले नेपालमा राजनीतिक स्थायित्व अनिवार्य रहेको बताउँदै नेपालले भारतको काँधमा काँध मिलाएर विकासको पथमा अघि बढेको हेर्न भारत आँतुर रहेको स्पष्ट पारे । उनले भने,‘नेपाल हिमालयको शान, भारतको शान र एशियाकै शान बनोस् ।’ 
नेपालजस्तो देवभुमीमा आउन पाउँदा आफूले आफूलाई पवित्र महशुस गरेको बताउँदै जोलीले भने,‘नेपाल–भारत सम्बन्ध रोटी र बेटीको सम्बन्ध जुन छ, अब यसलाई आर्थिक समृद्धिको आधारमा अघि बढाउनुपर्छ, बस्, भारतले यही चाहेको छ ।’

Advertisement


 

प्रतिक्रिया

सम्बन्धित सामाग्री