शनिबार, ३ साउन २०८२

सन नेपाल लाइफ इन्स्योरेन्सले वैशाख ३० देखि हकप्रद शेयर निष्काशन गर्दै

समयपोष्ट २०८२ वैशाख १२ गते ९:५२

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (SNLI) ले आगामी वैशाख ३० गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको २७ प्रतिशत अर्थात् १ कित्ता शेयर बराबर ०.२७ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

यसअनुसार कम्पनीले १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ। प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँ तोकिएको छ।

हकप्रद शेयर निष्काशनका लागि कम्पनीले वैशाख ५ गते बुकक्लोज गरेको थियो। तसर्थ, वैशाख ४ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम शेयरधनीहरूले यो हकप्रद शेयरका लागि आवेदन दिन योग्य हुनेछन्। आवेदन दिने अन्तिम मिति जेठ १९ गतेसम्म तोकिएको छ।

केयर रेटिङ्स नेपालले हकप्रद निष्काशनका लागि गरेको मूल्यांकनमा कम्पनीलाई ‘केयर एनपी ट्रिपल बी’ इस्यूअर रेटिङ प्रदान गरेको छ। यो रेटिङले कम्पनीको वित्तीय दायित्व समयमै बहन गर्ने क्षमता औसत स्तरको रहेको संकेत गर्छ।

हकप्रद शेयरको बिक्री प्रबन्धकको जिम्मेवारी नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडले लिएको छ। शेयरधनीहरूले बिक्री प्रबन्धकको कार्यालय, सन नेपाल लाइफ इन्स्योरेन्सको केन्द्रीय तथा क्षेत्रीय कार्यालयहरू, साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृत आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट सि-आस्वा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

हाल कम्पनीको चुक्ता पूँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ रहेको छ। हकप्रद शेयर निष्काशन र बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी ५ अर्ब ३ करोड १२ लाख ३२ हजार रुपैयाँ पुग्नेछ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री