
नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले २०२५ अप्रिल २० मा अमेरिकाको भर्जिनियामा आफ्नो १८औं स्थापना दिवस मनाएको छ। सन् २००७ अप्रिल २१-२२ मा भर्जिनियाको आर्लिङ्टनमा पहिलो अधिवेशन सम्पन्न गरी स्थापित नेजाले प्रत्येक वर्ष अप्रिल २१ लाई स्थापना दिवसको रूपमा मनाउँदै आएको छ।
सन् २००७ मा गिरीश पोखरेलको अध्यक्षतामा गठन भएको नेजाले १८ वर्षको अवधिमा उत्तर अमेरिकाका नेपाली पत्रकारहरूलाई संगठित गर्दै नेपाल पत्रकार महासंघसँग समन्वयमा पत्रकारिता पुरस्कार स्थापना, लेखनवृत्ति, क्षमता विकास, हकहित र सामाजिक कार्यमा उल्लेखनीय योगदान पुर्याएको छ।
नेजा अध्यक्ष सुरज भण्डारीको अध्यक्षता र नेपाली दूतावास, वासिङ्टन डीसीका कार्यवाहक उपप्रमुख शरदराज आरनको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा एनआरएनए अमेरिकाका अध्यक्ष डा. अर्जुन बन्जाडे, नेजाका संस्थापक अध्यक्ष गिरीश पोखरेल, पूर्वअध्यक्ष भोला आचार्य, पूर्वकार्यवाहक अध्यक्ष कृष्ण शर्मा र मानार्थ सदस्य योगेश उपाध्यायले नेजाको भूमिका र योगदानबारे चर्चा गरे।

कार्यक्रममा नेपाली दूतावास, वासिङ्टन डीसीका कार्यवाहक उपप्रमुख शरदराज आरनले अमेरिकामा रहेका नेपाली पत्रकारहरूसँग दूतावास हरपल समन्वय र सहकार्य गर्न तत्पर रहेको बताए। उनले सूचना संप्रेषण र पत्रकारहरूका लागि आवश्यक सूचना प्रवाहमा दूतावासले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको दाबी गर्दै नेजाको स्थापनाको शुभकामना व्यक्त गरे र आगामी दिनमा थप नवीन कार्यक्रमका लागि नेजाको भूमिका महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे।
नेजाका अध्यक्ष सुरज भण्डारीले उत्तर अमेरिकाका नेपाली समुदायको हितमा पत्रकारितामार्फत सेवा पुर्याउने र यहाँका नेपाली पत्रकारहरूको हितमा काम गर्दै आएको बताए। उनले आगामी दिनमा पेसाप्रति जिम्मेवार बन्दै नेजालाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा नेजाका संस्थापक तथा सीटी अफ इन्डियाना हेड उपमेयर किरण सिटौला, एसोसिएसन अफ नेप्लिज इन अमेरिकाका अध्यक्ष डा. खगेन्द्र अधिकारी, युनाइटेड नेपाली पोलिटिकल एक्सन कमिटीका अध्यक्ष एड्रीन पोखरेल, एभरेस्ट फेडेरल क्रेडिट युनियनका प्रमुख कार्यकारी अधिकृत सुमन तिम्सिना, एनआरएनए अमेरिकाका महिला संयोजक सुनिता खत्री, सल्लाहकार ददी ढुंगाना, एनआरएनए भर्जिनिया च्याप्टरका अध्यक्ष विशाल कार्की, जनसम्पर्क समिति अमेरिकाका उपाध्यक्ष केशव बराल, एनआरएनए चाइनाका पूर्वअध्यक्ष प्रदीप न्यौपानेलगायतले शुभकामना मन्तव्य व्यक्त गरे।

नेजाका उपाध्यक्ष सुजन पण्डितले स्वागत मन्तव्य, महासचिव बाबुराम दाहालले कार्यक्रम संचालन र डिसी मेट्रो क्षेत्रका क्षेत्रीय संयोजक सिर्जना काफ्लेले धन्यवाद मन्तव्य व्यक्त गरे।
कार्यक्रममा एनआरएनए अमेरिका मिडिया कोर्डिनेटर सतीश चापागाईं, आरम्भ पुस्तकालयकी अध्यक्ष मेघा बस्नेत, एर्टोनी निरन्जन अधिकारी, समाजसेवी एवं अग्रज पत्रकार जितमान बस्नेत, सुरेश अधिकारी, राष्ट्रिय लोकदोहारी प्रतिष्ठानका कोषाध्यक्ष अमृत अधिकारी, पत्रकारहरू रामसी खरेल, सम्झना नेपाल, लीलादेवी ओझा, लेखनाथ भण्डारी, विष्णु शितल, ज्योति देवकोटा, सुदीप सिवाकोटी, विश्वराज थापा, बाबु खरेल, कविन्द्र सिटौलालगायत नेजाका अग्रज, सदस्य र समाजसेवीहरूले आ-आफ्ना धारणा व्यक्त गरे।
नेजा र एनआरएनए अमेरिकाबीचमा सहकार्य सम्झौता

नेपाल अमेरिका पत्रकार संघ (नेजा) र गैरआवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्वय परिषद् अमेरिकाबीच नेजाको १८औं स्थापना दिवसको अवसरमा सहकार्य समझदारी पत्रमा हस्ताक्षर भएको छ। लामो समयदेखि दुई संस्थाबीच सहकार्य हुँदै आए पनि लिखित सम्झौता नभएको अवस्थामा यो समझदारी पत्रले सहकार्यका क्षेत्रहरू निर्धारण गरेको छ।
नेजाका अध्यक्ष सुरज भण्डारी र एनआरएनए अमेरिकाका अध्यक्ष डा. अर्जुन बञ्जाडेले सम्झौता पत्रमा हस्ताक्षर गरे। डिजिटल रूपमा यसअघि नै हस्ताक्षर भएको भए पनि भौतिक रूपमा २०२५ अप्रिल २०, आइतबार हस्ताक्षर सम्पन्न भएको हो। यो सहकार्यले दुई संस्थाबीचको सम्बन्धलाई थप सुदृढ गर्ने विश्वास दुवै अध्यक्षले व्यक्त गरे। नेजा-एनआरएनए पत्रकारिता सम्मान, नेजा-एनआरएनए बहसलगायत कार्यक्रम संयुक्त रूपमा अघि बढाउने उद्देश्यले समझदारी पत्र तयार गरिएको छ।
नेजाको स्थापना दिवसमा पुस्तक प्रदान

नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले आफ्नो १८औं स्थापना दिवसको अवसरमा पुस्तकालयलाई १८ वटा पुस्तक उपहारस्वरूप प्रदान गरेको छ। नेपाल, अमेरिका र क्यानडामा रहेका पत्रकारहरूद्वारा लिखित यी पुस्तकहरू पुस्तकालयकी अध्यक्ष मेघा बस्नेतलाई हस्तान्तरण गरिएको थियो। आरम्भ पुस्तकालय नेपाली समुदायद्वारा सञ्चालित र नर्थ क्यारोलिनामा अवस्थित छ।










प्रतिक्रिया