शहीद धर्मभक्तमा वैदेशिक रोजगारीका श्रमिकका लागि निःशुल्क स्वास्थ्य र परामर्श सेवा
वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूको स्वास्थ्य परीक्षणका लागि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले निःशुल्क ओपीडी वार्ड स्थापना गर्ने निर्णय गरेको छ।
यो निर्णय संयुक्त अरब इमिरेट्सको दुबईमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपाली श्रमिकहरूको उपचार र मानसिक स्वास्थ्य परामर्शको आवश्यक व्यवस्था गर्ने बताए अनुसार आएको हो।
केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले वैदेशिक रोजगारीबाट फर्केका जोकोहीले केन्द्रमा गएर निःशुल्क स्वास्थ्य परीक्षण गराउन सक्ने जानकारी दिए। उनले भने, “हामीले बेग्लै निःशुल्क ओपीडी वार्ड स्थापना गर्ने निर्णय गरेका छौं, जसले श्रमिकहरूको स्वास्थ्य जाँचमा सहजता ल्याउनेछ।”
यसैगरी, केन्द्रले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सञ्चालन गर्ने अभिमुखीकरण तालिममा नसर्ने रोगसम्बन्धी जानकारी र रोकथामका उपायहरूबारे जनचेतना फैलाउन विज्ञ चिकित्सक खटाउने भएको छ। साथै, वैदेशिक रोजगार बोर्डलाई नसर्ने रोगसम्बन्धी जानकारीमूलक सामग्री पनि उपलब्ध गराइनेछ।
विदेशमा रहँदा देखिएका स्वास्थ्य समस्याको समाधानका लागि केन्द्रले बेग्लै हटलाइन नम्बर र सामाजिक सञ्जालमार्फत परामर्श सेवा प्रदान गर्न मेडिकल अधिकृतहरूलाई खटाउने निर्णय गरेको छ।
केन्द्रले वैदेशिक रोजगार विभागको अनुरोधमा रोजगारीमा जाने श्रमिकहरूका लागि लागत खर्चमा स्वास्थ्य परीक्षण रिपोर्ट उपलब्ध गराउने निर्णय पनि गरेको छ।
प्रतिक्रिया