न्यायाधीश नियुक्तिमा सहमति नहुँदा न्याय परिषद् बैठक निष्कर्षविहीन

न्यायाधीश नियुक्तिका विषयमा सहमति जुट्न नसक्दा न्याय परिषद्को बैठक बिना निष्कर्ष समाप्त भएको छ। आइतबार साँझ ५ बजेदेखि प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा बसेको बैठक करिब दुई घण्टासम्म चले पनि कुनै निर्णय नहुँदै टुंगिएको हो।

Advertisement

परिषद्का एक सदस्यका अनुसार आइतबारको बैठकमा न्यायाधीश नियुक्तिको विषयमा गहन छलफल भए पनि सहमति कायम हुन सकेन। ती सदस्यले बताएअनुसार अर्को बैठक सोमबार पुन: बोलाइएको छ।

यसअघि गत बिहीबार पनि न्यायाधीश नियुक्तिका लागि बसेको बैठकमा सहमति नजुटेपछि कुनै निर्णय नहुँदै सकिएको थियो। हाल देशभरका जिल्ला, उच्च र सर्वोच्च अदालतमा ३३ न्यायाधीशका पद रिक्त रहेका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले गत माघ २२ गते संसदीय सुनुवाइबाट अनुमोदित दामोदर खड्कालाई न्याय परिषद्को सदस्यमा नियुक्त गरेपछि परिषद्ले पूर्णता पाएको थियो। यद्यपि, पछिल्लो समय बार र बेन्चबीचको खटपटका कारण न्यायाधीश नियुक्तिमा ढिलाइ हुँदै आएको छ। हालै नेपाल बार एसोसिएसनमा विजय मिश्रको नेतृत्वमा नयाँ कार्यसमिति आएको छ।

नयाँ नेतृत्व आएपछि प्रधानन्यायाधीश राउतले न्यायाधीश नियुक्तिका लागि सक्रियता बढाएका छन्। हालको न्याय परिषद्मा वरिष्ठतम् न्यायाधीश सपना मल्ल प्रधान, कानुनमन्त्री अजयकुमार चौरासिया, वरिष्ठ अधिवक्ताहरू रामप्रसाद भण्डारी र दामोदर खड्का तथा सदस्य सचिव यमबहादुर बुढामगर रहेका छन्।

Advertisement

न्यायाधीश नियुक्तिमा देखिएको गतिरोधले रिक्त पदहरू छिटो पूर्ति हुनेमा आशंका बढाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री