शनिबार, १७ साउन २०८२

यस्तो छ एनआईसी एशिया बैंकको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण

समयपोष्ट २०८२ वैशाख ७ गते ७:०५

एनआईसी एशिया बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरणअनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९१.८१ प्रतिशतले घटेको छ।

चालु आर्थिक वर्षको पहिलो नौ महिनामा बैंकले १५ करोड ६७ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको १ अर्ब ९१ करोड ४८ लाख रुपैयाँको तुलनामा निकै कम हो। बैंकका अनुसार खुद ब्याज आम्दानीमा कमी र इम्पेरमेन्ट चार्जमा वृद्धिका कारण नाफामा ठूलो गिरावट आएको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २.७६ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ४०.६६ प्रतिशतले घटेको छ। त्यस्तै, कुल सञ्चालन आम्दानी १०.७७ प्रतिशत र सञ्चालन मुनाफा ६४.४० प्रतिशतले घटेको छ। इम्पेरमेन्ट चार्ज गत वर्षको २ अर्ब १४ करोडबाट बढेर ३ अर्ब ५ करोड पुगेको छ, जसले नाफालाई थप दबाब दिएको छ।

बैंकको प्रतिशेयर आम्दानी (EPS) गत वर्षको १५ रुपैयाँ ८९ पैसाबाट घटेर १ रुपैयाँ ४० पैसामा झरेको छ। चैत मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ५६ करोड रुपैयाँ ऋणात्मक रहेको छ। यद्यपि, बैंकको मूल्य आम्दानी अनुपात (P/E Ratio) २६६.६४ गुणा र प्रतिशेयर नेटवर्थ १९९ रुपैयाँ ३० पैसा रहेको छ।

बैंकको चुक्ता पूँजी १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ छ भने जगेडा कोषमा १४ अर्ब ८१ करोड ३० लाख रुपैयाँ सञ्चित छ। तेस्रो त्रैमासको अन्त्यसम्म बैंकले २ खर्ब ९४ अर्ब ६ करोड १ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ र २ खर्ब ३३ अर्ब ४३ करोड ४३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।

बैंकको यो वित्तीय अवस्थाले चालु आर्थिक वर्षमा बजारको चुनौतीपूर्ण अवस्था र जोखिम व्यवस्थापनमा थप ध्यान दिनुपर्ने संकेत गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री