बुधबार, ३२ असार २०८२

नेप्से परिसूचक सामान्य घट्यो, कारोबार रकम भने ५ अर्ब ६३ करोड पुग्यो

समयपोष्ट २०८१ चैत २७ गते १६:२०

Advertisement

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। अघिल्लो दिन बुधबार करिब १० अंकले बढेको नेप्से बिहीबार भने ५.५७ अंकले घटेर २६७०.७० विन्दुमा पुगेको हो। यद्यपि, परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ। बुधबार साढे ४ अर्बको शेयर किनबेच भएको बजारमा बिहीबार ३२१ स्टकको ४९ हजार ६३२ पटकको कारोबारमा ५ अर्ब ६३ करोड ७९ लाख रुपैयाँ बराबरको १ करोड १३ लाख ८४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

बिहीबार दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किटमा पुगेको हो। नेपाल माइक्रो इन्स्योरेन्स गत मंगलबारदेखि दोस्रो बजारमा कारोबारमा आएको थियो भने क्रेष्ट माइक्रो लाइफ आजदेखि कारोबारमा प्रवेश गरेको कम्पनी हो। त्यस्तै, सिन्धु विकास बैंकको शेयरमूल्य करिब ८ प्रतिशतले बढेको छ भने विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ७ प्रतिशतभन्दा बढीले उकालो लागेको छ। यता, बोटलर्स नेपाल (बालाजु) को शेयरमूल्य भने सर्वाधिक ४.३७ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा राधी विद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। उक्त कम्पनीको ३५ करोड ९४ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। त्यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको ३५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने हिमालयन रि इन्स्योरेन्सको साढे ३० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये ४ वटाको परिसूचक बढेको छ भने ९ वटाको घटेको छ। विकास बैंक, जलविद्युत, लघुवित्त र म्युचुअल फण्ड उपसमूहको परिसूचकमा सामान्य वृद्धि भएको छ। बाँकी अन्य उपसमूहको परिसूचक भने ०.९० प्रतिशतले घटेको छ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री