
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफ्नो पाँच वर्षे कार्यकालको समापनसँगै केन्द्रीय बैंकको स्वायत्ततामाथि हस्तक्षेप भएको स्पष्ट रुपमा बताएका छन्। शुक्रबार राष्ट्र बैंकमा आयोजित एक विशेष कार्यक्रममा गभर्नर अधिकारीले कार्यकालभरिका प्रमुख उपलब्धिहरू सार्वजनिक गर्दै कार्यकालको दोस्रो वर्षतिर तत्कालीन सरकारबाट केन्द्रीय बैंकमाथि “ठाडो हस्तक्षेप” भएको उल्लेख गरेका हुन्।
“कार्यकालको दोस्रो वर्ष पुग्दै गर्दा नेपाल राष्ट्र बैंक नेतृत्वमाथि प्रहार भइ केन्द्रीय बैंकको स्वायत्ततामाथि ठाडो हस्तक्षेप भएको अवस्थामा बैंक सञ्चालनको विश्वव्यापी मान्यताअनुरूप स्वायत्ततालाई अक्षुण राखिदिनुहुने सर्वोच्च अदालत, न्यायाधीश तथा अधिवक्ताप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु,” गभर्नर अधिकारीले भने।
उनले कोभिड महामारी र रुस-युक्रेन युद्धजस्ता संकटका बेलामा केन्द्रीय बैंकले लिएको नीति तथा कार्यक्रमले देशको अर्थतन्त्रलाई सन्तुलनमा राख्न सहयोग गरेको बताए। “विपद्का समयमा बैंकले गरिएका पहलहरू देशको अर्थतन्त्रलाई स्थायित्व दिने दिशामा अग्रसर भए,” अधिकारीको भनाइ थियो।
गभर्नर अधिकारीले आफ्नो कार्यकालमा भएका अन्य प्रमुख उपलब्धिहरू पनि सार्वजनिक गरे, जसमा सूचना प्रविधि महाशाखालाई विभागमा उन्नयन गर्नु, रेमिट्यान्स कम्पनी तथा गैर बैंकिङ संस्थाको सुपरीवेक्षण गर्न नयाँ विभागको स्थापना, विदेशी लगानी विविधीकरण र विदेशी विनियम व्यवस्थापन विभागमा लगानी शाखाको सुदृढीकरण प्रमुख छन्।
उनले कोभिड संक्रमणको पहिलो वर्ष बाहेकका बाँकी चार वर्षमा ऐनले निर्दिष्ट गरेअनुसार वार्षिक प्रतिवेदन समयमै सरकारसमक्ष पेश गरिएको जानकारी दिए। साथै, नेपाल सरकारको खातामा जम्मा हुने रकमान्तर वृद्धि भएको दाबी गर्दै उनले केन्द्रीय बैंकको व्यवस्थापन क्षमता अझ सबल भएको उल्लेख गरे।










प्रतिक्रिया