मंगलबार, १० असार २०८२

सेबोनले जारी गर्‍यो निर्देशिका : ब्रोकर कम्पनीहरूलाई मर्जरमा जान मार्ग प्रशस्त

समयपोष्ट २०८१ चैत १९ गते ११:००

Advertisement

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ब्रोकर कम्पनीहरूलाई मर्जरमा जान मार्ग प्रशस्त गरिदिएको छ। सेबोनले ‘धितोपत्र व्यवसायी गाभ्ने/गाभिने वा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०८१’ जारी गरेसँगै ब्रोकर कम्पनीहरूलाई मर्जरको बाटो खुलेको हो।

धितोपत्र दलाल वा धितोपत्र व्यापारीको अनुमतिपत्र प्राप्त व्यवसायीबीच गाभ्ने/गाभिने वा प्राप्ति गर्ने कार्यलाई व्यवस्थित गर्न आवश्यक भएकाले बोर्डले यो निर्देशिका ल्याएको जनाएको छ।

चुक्ता पुँजी कायम गर्न मर्जरको विकल्प

सेबोनले २०७९ सालमा नयाँ ब्रोकर लाइसेन्स खुला गर्दा पुराना ब्रोकर कम्पनीहरूलाई तीन वर्षभित्र तोकिएको चुक्ता पुँजी कायम गर्न निर्देशन दिएको थियो। निर्देशनअनुसार सीमित कार्य गर्ने ब्रोकर कम्पनीका लागि २० करोड, पूर्ण कार्य गर्नेहरूको लागि ६० करोड तथा स्टक डिलरका लागि १ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी पुर्‍याउनु पर्नेछ।

Advertisement

उक्त समयसीमा आगामी असार मसान्तसम्म समाप्त हुँदैछ। ब्रोकर कम्पनीहरूले बोनस शेयर तथा हकप्रद जारी गरेर वा मर्जरमार्फत पुँजी पुर्‍याउन सक्नेछन्। धेरैजसो ब्रोकर कम्पनीहरूले मर्जरको बाटो अपनाउने जनाएका छन्। तर, सेबोनले आवश्यक निर्देशिका जारी नगर्दा मर्जर प्रक्रिया अघि बढ्न सकेको थिएन। अब निर्देशिका जारी भएसँगै मर्जरको बाटो खुलेको छ।

९२ ब्रोकर कम्पनीमध्ये धेरैले पुँजी पुर्‍याउन सकेनन्

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार हाल ९२ वटा ब्रोकर कम्पनी सञ्चालनमा छन्, जसमा २ वटा स्टक डिलरसमेत छन्। नयाँ कम्पनीहरूले तोकिएको चुक्ता पुँजी पुर्‍याएर लाइसेन्स लिए पनि तीन दर्जनभन्दा बढी पुराना ब्रोकर कम्पनीहरूले अझै पुँजी पुर्‍याउन सकेका छैनन्।

सेबोनले गएको पुस ८ गते पुँजी नपुगेका ब्रोकर कम्पनीहरूलाई योजना पेश गर्न पत्राचार गरेको थियो। ब्रोकर कम्पनीहरूले बोनस शेयर, हकप्रद र मर्जरमार्फत पुँजी पुर्‍याउने योजना प्रस्तुत गरेको सेबोनका प्रवक्ता निरञ्जय घिमिरेले जानकारी दिए।

मर्जर प्रक्रिया र मूल्याङ्कन विधि

नयाँ निर्देशिका अनुसार नियमावलीको नियम ७(क) बमोजिम धितोपत्र दलाल वा व्यापारी एक आपसमा गाभ्ने/गाभिने वा प्राप्ति गर्न योग्य हुनेछन्। गाभ्ने/गाभिने चाहने कम्पनीहरूले सञ्चालक समिति र साधारण सभाबाट निर्णय गरी सैद्धान्तिक सहमतिको लागि निवेदन दिनुपर्नेछ।

मर्जरका लागि कम्पनीहरूले सम्पत्ति तथा दायित्व मूल्याङ्कन गराउनु पर्नेछ। सैद्धान्तिक सहमति प्राप्त भएपछि स्वतन्त्र मूल्याङ्कनकर्ताले ड्यू डिलिजेन्स अडिट गर्नेछन्। मूल्याङ्कन गर्दा समायोजित खुद सम्पत्तिलाई ७५ प्रतिशत, भविष्यमा प्राप्त हुने नगद प्रवाहको वर्तमान मूल्यलाई १५ प्रतिशत र अन्तर्राष्ट्रिय मूल्याङ्कन मापदण्डअनुसार अन्य कुनै एक विधिलाई १० प्रतिशत आधार मानिनेछ।

शेयर स्वाप अनुपात निर्धारण

मूल्याङ्कन प्रतिवेदनका आधारमा अन्तिम शेयर स्वाप अनुपात निर्धारण गरिनेछ। यो अनुपात सम्बन्धित कम्पनीहरूको सञ्चालक समितिबाट अनुमोदन गराउनु पर्नेछ।

निर्देशिका जारी भएसँगै ब्रोकर कम्पनीहरूलाई मर्जरको बाटो खुला भएको छ। अब ब्रोकर कम्पनीहरूले मर्जर प्रक्रियालाई तीव्रता दिँदै तोकिएको समयभित्र चुक्ता पुँजी पुर्‍याउनु पर्नेछ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री