बुधबार, २ जेठ २०८१

गोरखापत्र संस्थानमा तस्बिर प्रदर्शनी

समयपोष्ट २०८१ वैशाख १७ गते १७:०७

Advertisement

गोरखापत्र संस्थानले राष्ट्रिय फोटो पत्रकारिता दिवसका पारेर आयोजना गरेको पुराना तस्बिर प्रदर्शनीले त्यसबेलाका सामाजिक परिवेश, जनजीवन, रहनसहन र ऐतिहासिक घटनाक्रम बुझ्न सघाएको छ ।

धर्मपथस्थित संस्थानको मुख्य कार्यालयमा भइरहेको प्रदर्शनीमा विस २०३० देखि २०६० सम्म गोरखापत्रमा प्रकाशित तथा त्यहाँ कार्यरत फोटो पत्रकारले खिचेका श्यामश्वेत तस्बिर समावेश गरिएको छ ।

यही वैशाख २३ गतेसम्म चल्ने उक्त प्रदर्शनीको यही वैशाख १३ गते सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले उद्घाटन गर्नुभएको थियो । चार वटा कोठामा गरिएको प्रदर्शनीमा एक सय ६० भन्दाबढी तस्बिर समेटिएको छ ।

क्यामरा र तस्बिरसँग सम्बन्धित अन्य उपकरण पनि राखिएको प्रदर्शनीमा प्रवेश निःशुल्क रहेको गोरखापत्र दैनिकका फोटोग्राफी विभाग प्रमुख रामप्रसाद हुमागाईंले जानकारी दिनुभयो ।

Advertisement

पुराना र महत्वपूर्ण तस्बिरका नेगेटिभ थन्किएर बसेको अवस्थामा ती नेगेटिभको त्यसको महत्व बुझेर संरक्षण र व्यवस्थापन गर्ने सन्दर्भमा प्रमुख हुमागाईले जानकारी दिनुभयो ।
विस १९५८ वैशाख २४ गतेबाट प्रकाशन आरम्भ गरेको मुलुकको जेठो अखबार गोरखापत्र नेपाली समाज, राजनीति, जनजीवन, भाषा, संस्कृति र सम्पादासम्बन्धी जानकारी लिने महत्वपूर्ण दस्तावेजका रुपमा रहेको छ ।

विस १९८४ वैशाख १३ गते उक्त पत्रिकाले पहिलो पटक सर्वसाधारणको तस्बिर छापेको दिनको स्मरण गर्दै राष्ट्रिय फोटो पत्रकारिता दिवस मनाउने गरिएको छ । धुलो टकटक्याएर निकालिएको रिलबाट प्रिन्ट गरिएका धेरै जसो तस्बिर अहिले अवलोकन गर्न आउनेका लागि सूचनाको दरिलो स्रोत भएको छ ।

संस्थानले प्रदर्शन गरेका पुराना फोटाको रिलले करिव एक सय ५० बाकस भरिएका छन् । प्रर्दशनीका लागि छनोट भएको नेगेटिभ स्क्यानिङ गर्न पनि निकै चुनौती भएको उहाँले बताउनुभयो । अहिले तस्बिरका माध्यमबाट ३० देखि ६० को दशकसम्म राजनीतिक घटनाक्रम, सामाजिक परिवेशलगायत विविध क्षेत्र बुझन चाहनेलाई प्रदर्शनी उपयुक्त थलो बनेको उहाँको भनाइ छ ।

संस्थानले यसअघि आफनो स्थापना दिवसका उपलक्ष्यमा पनि यसखाले तस्बिर प्रदर्शनी गरेको थियो । यसअघि भएको प्रदर्शन राष्ट्रिय समाचार समिति(रासस)ले पनि गरेको थियो ।

तीसदेखि ६० को दसकमा काठमाडौ त्रिपुरेश्वरदेखि भक्तपुरको सूर्यविनायकसम्म सञ्चालनमा रहेको ट्रलिबस चढ्ने घुँइचोदेखि विस २०३६ मा बिपी कोइरालाले आमसभालाई गर्नुभएको सम्बोधनसम्मका तस्बिर समेटिएको छ ।

दर्शकलाई बुझन र जान्न सहज होस् भनी भिडियो स्लाइड समेत बनाइएको छ । प्रदर्शनीमा रहेकामध्ये नेकपा(एमाले)का तत्कालीन नेता वामदेव गौतमको विस २०४८ मा सांसद सपथ ग्रहणका अवसरमा खिचिएको सर्वाधिक चासोका साथ हेरिएको छ ।

संस्थानका पूर्वमहाप्रबन्धक गोपाल चित्रकार, फोटा पत्रकारहरु विन्दुराजसिह सुवा, रामेश्वर कायस्थ, भीम गुरुङ, भरत देउराली, नातिकाजी महर्जन, राजेन्द्र चित्रकार, शेखर चौलागाई र रमेश केसीलगायतका फोटो पत्रकार मुलुकमै यस क्षेत्रका अब्बल जनशक्ति मानिनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री