सोमबार, ३१ वैशाख २०८१

कैलाश मानसरोवर दूरदर्शनले नेपालगञ्जका होटल भरिभराउ

समयपोष्ट २०८१ वैशाख १६ गते १३:३५

Advertisement

नेपालगञ्जबाट माउन्टेन फ्लाइटमार्फत कैलाश मानसरोवर दूरदर्शन गर्ने व्यवस्था मिलाइएको छ । कैलाश मानसरोवर दूरदर्शनका लागि भारतीय धार्मिक पर्यटक नेपालगञ्ज आउनेक्रम बढेको छ ।

भारतीय र नेपाली धार्मिक पर्यटकलाई लक्षित गरेर कैलाश मानसरोवर दर्शन गराउन माउन्टेन फ्लाइट सुरु गरेपछि भारतीय पर्यटक आउनेक्रम बढेको नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले बताउनुभयो ।

उहाँका अनुसार नेपालगञ्जबाट माउन्टेन उडान सुरु गरिएलगत्तै कैलाश मानसरोवर जानका लागि ठूलो सङ्ख्यामा भारतीय धार्मिक पर्यटक आउन थालेको र अझै धेरैले यहाँ आउन बुकिङ गराएका छन् ।

त्यसबाट नेपालगञ्जका अधिकांश ठूला होटल भरिभराउ हुन थालेपछि होटल व्यवसाय पुनःएकपटक फस्टाउन लागेको अध्यक्ष सिग्देलको भनाइ छ । यो साता मात्रै पाँच सय बढी भारतीय दर्शनार्थी कैलाश मानसरोवरको दूरदर्शनका लागि नेपालगञ्ज आएको हान बाँकेका उपाध्यक्ष केशव न्यौपानेले बताउनुभयो ।

Advertisement

तीमध्ये तीन सय भारतीय आफ्नो होटल सिद्धार्थ भ्यूमा बसेको जनाउँदै उहाँले ती पर्यटकका कारण होटल व्यवसाय फेरि फस्टाउने आशा पलाएको बताउनुभयो । उपाध्यक्ष न्यौपानेले नेपालगञ्जका अन्य होटलमा पनि दुई सय बढी भारतीय पर्यटक पुगेको बताउनुभयो ।

सोही प्रकारले करिब तीन सय नेपाली धार्मिक पर्यटक पनि मानसरोवर दर्शनका लागि नेपालगञ्ज आएका छन् । माउन्टेन फ्लाइटमार्फत कैलाश मानसरोवर दूरदर्शनको अझै पनि भारतमा धेरै प्रचारप्रसार हुन नसकेको जनाउँदै उहाँले पर्यटन प्रवद्र्धन मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले राम्ररी प्रचारप्रसार गर्ने हो भने नेपालगञ्जले धान्न नसक्ने गरी भारतीय पर्यटक ओइरिने बताउनुभयो ।

उहाँका अनुसार नेपालगञ्ज भारतको लखनउ, दिल्ली, गाजियाबाद, गोरखपुर, कानपुर, बाराबङ्की, आगरा र अयोध्यालगायतका ठूला सहरबाट निकै नजिक रहेकाले भारतीय यहाँबाट माउन्टेन उडानमार्फत कैलाश मानसरोवर दर्शन गर्न जानसक्ने भएकाले यसले बाँकेको आर्थिक विकासमा ठूलो टेवा दिने विश्वास लिइएको छ ।

अझै यो महिनामा धेरै भारतीय पर्यटक नेपालगञ्ज पुग्ने विभिन्न पर्यटन व्यवसायीद्वारा जानकारी पाएकाले आफूहरू निकै उत्साहित बनेको होटल व्यवसायी महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष भास्कर काफ्लेले बताउनुभयो ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री