आइतबार, ३० वैशाख २०८१

सुदूरपश्चिम प्रदेशमा वसन्ते मकैखेती विस्तार गरिँदै

समयपोष्ट २०८१ वैशाख १६ गते ९:५८

Advertisement

मकैको आयात प्रतिस्थापनसँगै किसानको आम्दानी वृद्धि गर्ने लक्ष्यका साथ सुदूरपश्चिम प्रदेशमा मकैखेती विशेष कार्यक्रमअन्तर्गत वसन्ते मकैखेतीको विस्तार भइरहेको छ ।

कैलाली र कञ्चनपुरमा अभियानकै रूपमा गर्न लागिएको वसन्ते मकैखेतीका लागि सरकारले बीउमा अनुदान, सिँचाइ र अन्य प्राविधिक सहयोग गरेको छ । वसन्ते मकैखेती विस्तारलाई विशेष कार्यक्रममा समावेश गरिएको कैलाली कृषि ज्ञान केन्द्रका प्रमुख खगेन्द्रप्रसाद शर्माले जानकारी दिनुभयो ।

मुख्यमन्त्री बृहत् तथा विशेष कार्यक्रममा समेटिएको वसन्ते मकैखेती पहिलो वर्ष कैलालीको गौरीगङ्गा, घोडाघोडी, कैलारी, जानकीनगर, लम्कीचुहा, टीकापुर र कञ्चनपुरको पुनर्वास, बेलडाँडी, बेलौरीलगायत क्षेत्रमा गरिएको छ । कृषि ज्ञान केन्द्रमार्फत कार्यान्वयन भइरहेको खेती आगामी तीन वर्षभित्रमा थप क्षेत्रफलमा विस्तार गर्ने लक्ष्य छ । प्रदेश सरकारले वसन्ते मकैखेतीबाहेक चिप्स बनाउन प्रयोग हुने आलुखेती र मसिनो धानखेतीलाई पनि विशेष कार्यक्रममा समावेश गरेको छ ।

“दाना उद्योगलाई चाहिने कच्चा पदार्थ स्थानीय क्षेत्रबाट नै प्राप्त होस् भन्ने उद्देश्यले मकैखेती विस्तार गर्न लागिएको हो”, ज्ञान केन्द्रका प्रमुख शर्माले भन्नुभयो, “यसबाट किसानको आयआर्जन वृद्धि हुने र विदेशबाट आयात गरिने दानाको परिमाण घट्दै जानेछ ।”

Advertisement

कैलाली, कञ्चनपुरमा सञ्चालनमा रहेका दाना उद्योगका लागि आवश्यक पर्ने मकैलगायतका कच्चा पदार्थ भारतबाट आयात गर्नुपर्ने अवस्था छ । चालु आर्थिक वर्षको नौ महिनामा भारतबाट गड्डाचौकी नाका हुँदै रु १७ करोड बराबरको ४५ लाख ८३ हजार किलो मकै भित्रिएको छ ।

प्रदेशका सबै जिल्लामा झण्डै ४५ हजार एक सय ९५ हेक्टर जग्गामा बर्खे मकै र वसन्ते मकैखेती गरिएको भए पनि क्वारेन्टीइन कार्यालयका प्रमुख प्रमोद ठगुन्नाले स्थानीय क्षेत्रमा दाना उद्योगका लागि चाहिने मकै पर्याप्त उत्पादन नहुँदा भारतबाट आयात भइरहेको बताउनुभयो ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री