सोमबार, २४ वैशाख २०८१

धार्मिक पर्यटकीय स्थल बन्दै देवचुली डाँडा

समयपोष्ट २०८१ वैशाख १२ गते १४:४५


नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा पर्ने देवचुली डाँडा पदयात्राका लागि प्रख्यात छ । प्राकृतिक मनोरम दृश्य अवलोकनका लागि पर्यटक यहाँ आउने गर्दछन् । पछिल्लो समय देवचुली डाँडा धार्मिक गन्तव्यका रुपमा समेत चिनिँदै गएको छ ।

Advertisement

डाँडामा रहेको तीनकन्या माईको पूजाका लागि आउनेहरुको सङ्ख्यासमेत बढ्दो रहेको देवचुली डाँडा पर्यटकीय क्षेत्र निर्माण समितिका अध्यक्ष विद्रोही गिरीले बताउनुभयो । चैत्र शुक्ल पूर्णिमामा यहाँ पूजाका लागि उल्लेख्य सङ्ख्यामा भक्तजन आउने गरेको उहाँको भनाइ छ ।

चैते पूर्णिमाको दिन यहाँ तीनकन्या माईको पूजा हुने गर्दछ । थारु समुदाय यस दिन शिरथान कुमारवर्ती माईकारुपमा पूजा गर्न देवचुली डाँडा आउँछन् । सोमबार परेको चैते पूर्णिमाका दिन पूजाका लागि एक हजार ५५ जना दर्शनार्थी देवचुली डाँडा चढेको अध्यक्ष गिरीले बताउनुभयो ।

थारु समुदायका मानिस देवचुली–६ स्थित कीर्तिपुर पहिलो दिन बास बसेर माईको आराधाना गरी दोस्रो दिन इन्द्रसोत पुगेर बास बसी तेस्रो दिन अर्थात् पूर्णिमाको दिन देवचुली डाँडामा पुगेर पूजा गर्ने चलन छ । पूर्णिमाको दिन अन्य समुदायले आफ्नो मनोकाङ्क्षा पूरा होस् भन्दै पूजा गर्ने चलन छ ।

पूजा गर्न आउने श्रद्धालुभक्तजनको सहजताका लागि यसपटक देवचुली डाँडा पर्यटकीय क्षेत्र निर्माण समितिले स्वयंसेवक परिचालन गरेको थियो । समितिका अध्यक्षका गिरीका अनुसार भीडलाई व्यवस्थापन गर्न सिर्जना सामुदायिक वन समूह कीर्तिपुर र चुलीबोझा मगर होमस्टेले स्वयंसेवक परिचालन गरिएको थियो । पूजामा सहभागी भक्तजनले भेडा, बाख्राका पाठापाठी, परेवा माईलाई चढाउने गरेको मूल पुजारी गुनबहादुर गुरौले बताउनुभयो । एक हजार आठ सय मिटर अग्लो ठाउँमा रहेको गुफाभित्र माईको पूजा गर्ने चलन छ ।

Advertisement

परापूर्वकालदेखि चलिआएको तीन कन्यामाई पूजाको प्रचलनले यस क्षेत्रको पर्यटनमा महत्वपूर्ण स्थान लिएको देवचुली नगरपालिका–६ का अध्यक्ष एवं देवचुली डाँडा संरक्षण तथा पर्यटकीय निर्माण समितिका सदस्य मिनबहादुर सोतीले बताउनुभयो । देवचुलीमाई, शिरनाथ कुमारवर्ती माईको नामलेसमेत प्रसिद्ध रहेको तीनकन्यामाईको प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन भव्यताका साथ पूजा गरिन्छ । माइको पूजाआजा गर्नाले यस जीवन र परलोकमासमेत सुख मिल्ने धार्मिक मान्यता रहेको छ । यस दिन थारु समुदायको बाक्लो उपस्थिति हुने गर्दछ ।

एक हजार नौ सय ३६ मिटर अग्लो चुलीबाट उत्तरतर्फ मनै लोभ्याउने हिमाली दृश्य तथा दक्षिणतर्फकासम्म फाँट नारायणी नदी, चितवन राष्ट्रिय निकुञ्ज र विभिन्न बस्तीको दृश्यावलोकन गर्न सकिन्छ । चुलीको एक हजार आठ सय मिटर उचाइमा गुफा रहेको छ । द्वापरयुगमा पाँच पाण्डव द्रौपदीसहित केही समय गुप्तबास बसेको किंवदन्तीका कारण यस गुफाले महत्व बोकेको छ । गुफाभित्र मानिस र जनवारका देखिने आकृति र सारङ्गीको धुन निस्कने ढुङ्गाहरुका कारण यो गुफा विशेष आकर्षणका केन्द्रविन्दु बनेको छ ।

पूर्वपश्चिम राजमार्गको दलदलेदेखि मुन्डे हुँदै देवचुली नगरपालिकाको कीर्तिपुरबाट पाँच किलोमिटिरको दूरी उत्तरतर्फ देवचुली डाँडा पर्छ । कीर्तिपुरबाट पैदल हिँडेर करिब तीन घण्टामा देवचुली डाँडा पुग्न सकिन्छ । सवारीसाधनमा जाने र पहाड पनि घुम्न रुचाउने बुलिङटार–४ को बोझापोखरी हुँदै पूर्वतर्फबाट तेस्रो बाटो हँुदै चुली जान सक्छन् । कीर्तिपुर र बोझा पोखरीबाट पैदल आउनेहरु चुलीको फेदीमा भेट हुन्छन् । पैदलयात्रुलाई सहज होस् भनेर देवचुली डाँडा पर्यटकीय क्षेत्र निर्माण समितिले सिँढी तथा रेलिङको व्यवस्था गरेको छ । देवचुली डाँडा संरक्षण तथा पर्यटकीय क्षेत्र निर्माण समितिका गिरीले जानकारी दिनुभयो ।

बुलिङटारबाट दक्षिण सुनारथुम्की हुँदै घोरलडाँडा गाउँबाट देवचुली डाँडा पुग्न सकिन्छ । पूर्वतर्फबाट झेरी खण्डे दरबार हुँदै बरचुली डाँडाबाट यहाँसम्म आउन सकिन्छ । देवचुली डाँडा नवलपुरको गहनाका रुपमा रहेको छ । उत्तरतर्फ मनमहोक दृश्य र दक्षिणतर्फको समथर फाँटहरुले पर्यटकलाई आकर्षण गर्दछ ।

चैत वैशाखमा फुल्ने लालीगुराँसले यहाँ आउनेहरुलाई पुल्कित बनाउने गर्दछ । तीन कन्या माईसँग मागेका कुरा प्राप्त हुने विश्वासका कारण पनि यहाँ आउनेहरुको सङ्ख्यामा वृद्धि हुँदै गएको स्थानीयहरु बताउँछन् । दलदले–बोझापोखरी–कोखेटार सडक, मुन्डे कीर्तिपुर सडकको निर्माणले पर्यटकलाई यहाँ आउन सहज भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री