शनिबार, २२ वैशाख २०८१

अर्घाखाँचीमा आगलागी, १३ परिवार बासबिहीन

समयपोष्ट २०८१ वैशाख १० गते १५:४६

Advertisement

अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–३ रातामाटाकी वसन्ता मल्ल आइतबार दिउँसो खरानी सोहोर्दै हुनुहुन्थ्यो । आगलागीबा टघरसहित अन्नपात, लत्ताकपडा खरानी बनाएपछि गहभरी आँशु झार्दै उहाँले भन्नुभयो, “भएको बास खरानी भयो गास र बासको पनि टुङ्गो छैन । कहाँ बस्ने कहाँ खाने ।” शनिबार दिउँसो वनमा लागेको आगो बस्तीमा सल्किँदा उहाँको घर जलेर खरानी भएको थियो । त्यही खरानी स्याहार्दै उहाँले बिलौना गर्नुभयो ।

“घरमा रहेका अन्न, कपडा, लालपुर्जा, नागरिकता, गरगहना सबै खरानी भए, अहिलेत खाने ठाउँ पनि छैन्”, गङ्गाबहादुर विकले सुनाउनुभयो । आगलागीले उहाँको पनि घर नष्ट भएको छ । उहाँले घरमा भएको केही पनि बचाउन नसकिएको बताउनुभयो । “ज्यान जोगियो त्यसैमा चित्त बुझाउनुपर्ने भयो, अरु सबै नष्ट भयो”, उहाँले भन्नुभयो ।

मल्ल र विक मात्र होइन धारापानीमा शनिबार भएको भीषण आगोलागीका कारण १३ घर परिवार अहिले खुला आकाशमा बस्न बाध्य छन् । आगलागीबाट भूमिकास्थान नगरपालिका धारापानीको रातामाटा, जाबुनडाँडा, बाजाखर्क, फलामखिल्जीलगायतका गाउँका १३ घर र १० घरगोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी दीपेन्द्र रावलले बताउनुभयो । बस्तीमा पसेको आगो नियन्त्रण भए पनि वनमा अझै पूर्णरुपमा आगो निभेको छैन ।
प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले घटनास्थलमै गएर आगलागीका कारण बास गुमाएका परिवारलाई खाद्यान्न सामग्री प्रदान गर्नुभएको छ । आगलागीले घर गुमाएका रातामाटाका १६ घरपरिवारलाई जिल्ला प्रशासनको पहलमा उद्योग वाणिज्य सङ्घले खाद्यसामग्री राहत उपलब्ध गराएको उद्योग वाणिज्य सङ्घका जिल्ला अध्यक्ष प्रदीप मिश्रले बताउनुभयो । चामल, दाल, तेल, नुनलगायतका खाद्य सामग्री वितरण गरिएको छ ।

भीषण आगलागीले गाउँनै सखाप भएको छ । जिल्लाका विभिन्न स्थानमा शनिबार लागेको आगलागीमा ४३ घर गोठ जलेर नष्ट भएका छन् । हिजो भूमिकास्थान नगरपालिका, शीतगङ्गा नगरपालिका र पाणिनि गाउँपालिकामा भएको डढेलोले २० घर, २३ गोठ, ११ बाख्रा र छ भैँसी जलेर नष्ट भएका हुन् । सबै पालिकामा दमकल नहुँदा र आगो नियन्त्रणका सामग्री प्रयाप्त नहुँदा आगोलागीका घटना बढिरहेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत नुमलाल पन्थीले बताउनुभयो । उहाँले सुरक्षाकर्मी संग पनि पर्याप्त अग्नि नियन्त्रक साधन छैनन् ।

Advertisement

जिल्लाका छ वटा स्थानीय तहमध्ये सन्धिखर्क नगरपालिकामा मात्र दमकल छ । अन्य पालिकाहरुमा दमकल नभएपछि ट्याक्टरमा पानीको ट्याङ्कर भए पनि तयारी अवस्थामा राख्ने निर्णय भएको थियो । कार्यान्वयनको प्रक्रियामा आगलागी बढेको प्रशासकीय अधिकृत पन्थीको भनाइ छ । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री