मंगलबार, १८ वैशाख २०८१

सुदूर पहाडका दुरदराज गाउँमा पनि आइपीएलको सरगर्मी

समयपोष्ट २०८१ वैशाख ५ गते १६:१८

Advertisement

भारतमा सञ्चालन भइरहेको इन्डियन प्रिमियर लिग (आइपीएल) को सरगर्मी सुदूर पहाडका दुरदराज गाउँमा पनि ह्वात्तै बढेको छ । परम्परागत खेलिने खेल विस्तारै ओझेलमा पर्दै गएपछि सहरतिर खेलिने फुटबल, बाँस्केटबल, क्रिकेट, ब्याडमिन्टनलगायत खेलप्रति बालबालिका आकर्षित देखिन थालेका हुन् ।

सुशील जोशी दुर्गा महालिङ माविमा सात कक्षामा अध्ययन गर्नुहुन्छ । ११ वर्षीय सुशील गाउँमा दुई वर्षदेखि क्रिकेट खेलिरहनुभएको छ । उहाँ भारतीय क्रिकेट स्टार विराट कोहलीको खेलबाट प्रभावित भएको बताउनुहुन्छ । कोहलीको खेल कुन दिन, कुन समूहसँग हुन्छ भन्ने उहाँलाई प्रायः थाहा भइरहन्छ ।

फुर्सद भयो कि सुशीलसहित मेखराज, सुवास, टङ्क, खेमराज, सायदको टोली खुला चौरमा क्रिकेट खेल्न जानुहुन्छ । खेल खेल्दै गर्दा आफूलाई क्रिकेटका वादशाह धोनी, कोहली, रोहित शर्मालगायत नेपाली क्रिकेटका नाममा आफूलाई चिनाउँनुहुन्छ ।

गणेश जोशी क्रिकेटमा लामो सर्ट हान्नसक्ने हुँदा दीपेन्द्रसिंह ऐरीलाई सम्झनुहुन्छ । दीपेन्द्रको खेलबाट प्रभावित भएको बताउने उहाँले ब्याडिङ गर्दा ‘छक्का दीपेन्द्र’ भन्दै सके जति बल टाढा फाल्ने कोसिस गर्नुहुन्छ । टिमका सहभागीले पनि दीपेन्द्रको चौका छक्का सुरू भन्दै हुटिङ गर्छन् । त्यसपछि गणेशले सके जति बल ढाढा फाल्नुहुन्छ ।

खप्तडछान्ना–५ पिठातोलाको सुकिला ढङ्गमा खुला चौर हुँदा हरेक साँझ बालबालिका जम्मा भएर क्रिकेट खेल्छन् । क्रिकेटका सबै नियम थाहा पाएका बालबालिका आफैँले बनाएको काठको ब्याड र कपडाको बलले क्रिकेट खेल्ने गरेको सुवास जोशीले बताउनुभयो ।

“पहिले–पहिले टाइमपास, डण्डिबियो, चुन्नी, आरामविश्राम (खुट्टाले खेलिने) खेल्थ्यौँ । आजभोलि कसले चौका÷छक्का हान्छ, कसले विकेट लिन सक्छ भनेर क्रिकेट खेल्न रूचि लाग्छ”, उहाँले भन्नुभयो ।

सुवासका अनुसार गाउँघरमा सबै बालबालिकाको नजरमा क्रिकेट नै हुन्छ । “राति मोबाइलमा क्रिकेट हेर्ने र दिउँसो अभ्यास गर्दैगर्दा क्रिकेटको लत बसेको थाहै भएन”, उहाँले भन्नुभयो ।

पिठातोलामा बालबालिकाले क्रिकेट खेल्न थालेको धेरै भएको छैन । भरत खत्रीले भन्नुभयो, “हाम्रो पालामा पुरानै खेलहरू खेलिन्थे । अहिले गाउँघरमा सबैका हालमा मोबाइल फोनहरू छन् । नेटवर्कले राम्रै काम गर्छ । इन्टरनेट पनि फोरजी चल्न थाल्यो । बालबालिका मोबाइलमै झुम्मिन थाले । सदरमुकाम चैनपुर, प्रदेश राजधानी धनगढीसम्म पनि आवतजावत हुन थाल्यो । त्यो ठाउँमा देखे । गाउँमा पनि खेल्न थाले ।”

खत्रीका अनुसार खप्तडछान्नामै पिठातोला धेरै पछाडि परेको गाउँ हो । “अन्य ठाउँभन्दा पछाडि पिठातोला छ । त्यही ठाउँमा पनि क्रिकेटलाई माया गर्न नयाँ पुस्ता देखिएका छन् । अहिले हेर्दा त नयाँ पुस्ताको मन मस्तिष्कमै क्रिकेट देखिन्छ”, उहाँले भन्नुभयो ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री