बिहीबार, १५ चैत २०८०

जोखिम हस्तान्तरण गर्न बीमा

समयपोष्ट २०७५ वैशाख १७ गते ९:२०

रवीन्द घिमिरे, बीमाविद्
नेपालमा बीमा उद्योगमा प्रसस्त अवसरहरू छन् । साथै, चुनौतीहरू पनि नभएका होइनन् । बीमालाई विशुद्ध नाफा कमाउने व्यवसाय र बीमा पोलिसीलाई नाफाको लागि बनाइएका वस्तुको रूपमा मात्रै बुझ्ने गलत दृष्टिकोणका कारण चुनौतीहरू देखिएका हुन् । यदि बीमालाई सामाजिक सुरक्षाको एक भरपर्दो संयन्त्रको रूपमा सरकारले लिने हो भने बीमाको अवसरै अवसर देखिन्छ ।

Advertisement

बीमा व्यवसायका अवसरहरू

जीवन बीमाको बजार

हाल कुल जनसङ्ख्याको १० प्रतिशत मानिससँग मात्रै बीमा पोलिसी छ । नेपालको कुल जनसङ्ख्याको ५४ प्रतिशत (१ करोड ५८ लाख) जनसङ्ख्या १५ देखि ५९ वर्षभित्र पर्दछ, यो जनसङ्ख्यालाई आर्थिक रूपमा सक्रिय मानिन्छ र यी मानिसहरू आर्थिक रूपमा बीमा पोलिसी खरिद गर्न सक्षम छ भनिन्छ । तसर्थ ४४ प्रतिशत मानिसलाई बीमा आवश्यक छ ।

जीवन बीमाको प्रिमियम

हालसम्म जीवन बीमाको बिक्री मानिसको आर्थिक हैसियतको आधारमा भएको छैन, केवल न्यूनतम रकमको मात्रै बीमा हुने गरेको छ । कर्मचारीहरू केवल आयकर छुटको सीमा रू. २० हजारलाई मध्यनजर गर्दै वार्षिक रू. २० हजार प्रिमियम तिर्ने गरी कुल बीमाङ्क रकम तय गर्दछन् भने अन्य मानिसहरू पनि ५ लाखभन्दा माथिको बीमा गर्नुपर्ने भयो भने केही पो भइहाल्ने हो कि भनेर निकै डराउँछन् । हाल सबै पोलिसी होल्डरको बीमाङ्क रकम उनीहरूको आर्थिक हैसियतभन्दा निकै कम भएको हुँदा निजहरूलाई थप पोलिसी बिक्री गर्ने सम्भावना छ ।

बीमाका फाइदाहरू

बीमाले जोखिम हस्तान्तरण गर्ने भएकाले मानिसलाई आर्थिक क्षतिको कुनै चिन्ता हुँदैन र राज्यले पनि राज्य र जनताको सम्पत्तिको चिन्ता लिनुपर्दैन । सोको सट्टा अन्य कार्यमा समय खर्च गर्न पाउँछ ।

जीवन बीमा प्रिमियमको माध्यमबाट देशको विकास निर्माणका लागि चाहिने आवश्यक पुँजीको व्यवस्था गर्न सकिन्छ । बीमाको माध्यमबाट सामाजिक सुरक्षा प्रदान गर्न सकिन्छ । स्वास्थ्य बीमा र कृषि बीमा यसैका उदाहरण हुन् । रोजगारीको सिर्जना, बचत र पुँजी निर्माण, आर्थिक अनुशासन जस्ता फाइदा पनि बीमाबाटै हुन्छ ।

बीमाका चुनौतीहरू

बीमा क्षेत्रमा धेरै चुनौती छन् । ती चुनौतीहरूको मुख्य कारण भनेको राज्यको बीमासम्बन्धी ठोस नीति नहुनु नै हो । सरकारले बीमाको बारेमा गम्भीररूपमा सोचेको छैन र बीमालाई आमजनताको जनजीवनको एक अङ्गको रूपमा विकास गर्न सकिरहेको छैन । जसले गर्दा नेपालमा बीमा उद्योगको विकास हुन सकिरहेको छैन ।

राज्यको बीमा उद्योगप्रतिको उदासीनताको प्रभाव बीमा समितिमा पनि परेको छ । जसले गर्दा आजसम्म बीमाको सही तथ्याङ्क हामीसँग छैन, बीमासम्बन्धी तालिम दिने र औपचारिक अध्यापन गर्ने निकाय स्थापना भएको छैन, बीमासम्बन्धी पर्याप्त कानुन बनेको छैन । आमजनतालाई मात्रै होइन, पढे–लेखेका मानिसहरूलाई समेत बीमाको बारेमा थाहा छैन । बीमा कम्पनीहरू व्यवसायिक नहुनु, दक्ष जनशक्तिको अभाव हुनु तपसिलका समस्याहरू हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री