महाप्रबन्धक शर्माद्वारा कार्यालय निरीक्षण
राष्ट्रिय समाचार समिति (रासस) का महाप्रबन्धक ओपेन्द्र शर्माले सिरहाको लहानस्थित रासस कार्यालयको स्थलगत निरीक्षणका साथै सिरहाका सञ्चारकर्मीसँग सोमबार अन्तरक्रिया गर्नुभएको छ ।
जिल्ला कार्यालयको स्थलगत निरीक्षणपश्चात आयोजित सञ्चारकर्मीसँगको अन्तरक्रियामा महाप्रबन्धक शर्माले सञ्चारकर्मी दलसंग आस्था राखे पनि समाचारको सवालमा तटस्थ भएर नै कलम चलाउनु पर्ने सुझाव दिनुभयो ।
स्थानीयस्तरका सवाललाई समेटेर समाचार सम्प्रेषण गर्नुपर्ने बताउनुहुँदै शर्माले सन्तुलित, निष्पक्ष र तटस्थताका कारण बदलिँदो परिस्थितिमा राससको औचित्य अझ बढ्दै गएको बताउनुभयो ।
काम गर्ने पत्रकारलाई नै राष्ट्रिय समाचार समितिमा भविष्य रहेकाले व्यावसायिक पत्रकारिताको धर्म निर्वाह गर्न सुझावसमेत दिनुभयो ।
राष्ट्रिय समाचार समितिका सञ्चालक समिति सदस्य दयाराम दाहालले सीमित स्रोत साधनका कारण राससका कार्यालय भवनको मर्मत र उचित संरक्षणमा समस्या भएको बताउनुहुँदै स्थानीय सरकारलाई राससको बारेमा बुझाउन सकिए त्यहाँबाट सहयोग लिन सकिने विश्वास व्यक्त गर्नुभयो ।
राससलाई समय सुहाउँदो बनाउन लागिपरेको बताउनुहुँदै राससका कार्यकारी व्यवस्थापक उत्तम सिलवालले रासस लहानको भवन मर्मत र व्यवस्थापनका लागि केन्द्रले ध्यान दिने विश्वास दिलाउनुभयो ।
अन्तरक्रियामा नेपाल पत्रकार महासंघ सिरहाका अध्यक्ष दिनेश्वर प्रसाद गुप्ताले समय सुहाउँदो राससका सेवालाई विविधिकरण र विकेन्द्रीकृत गर्नुपर्ने सुझाव दिनुभयो ।
सो अवसरमा नेपाल पत्रकार महासंघ सिरहाका पूर्वसभापति पूर्व अध्यक्ष रामानन्द गुप्ता, सहसचिव जागेश्वर यादव उदासीले पछिल्लो समय राष्ट्रिय समाचार समिति लहानको कार्यालय व्यवस्थापनले फड्को मारेकोप्रति खुशी व्यक्त गर्नुभयो ।
सो अवसरमा रासस, जिल्ला कार्यालय, लहानका प्रमुख राजु विश्वकर्माले कार्यालयको अवस्था र समस्याबारे अवगत गराउनुभयो । कार्यक्रममा राससका प्रतिनिधि, सञ्चारकर्मी, स्थानीय बुद्धिजीवीलगायतको सहभागिता रहेको थियो । रासस
प्रतिक्रिया