शुक्रबार, १६ चैत २०८०

फष्टाउँदै औद्योगिक क्षेत्र, १९४ विदेशी उद्योगबाट ३४ अर्ब बराबरको लगानी भित्रियो

समयपोष्ट २०७५ वैशाख ३ गते ५:०१

उद्योग विभागमा चालू आर्थिक वर्षको आठ महिनामा विदेशी लगानीका १९४ उद्योग दर्ता भएका छन् ।

Advertisement

विभागले दिएको जानकारीअनुसार फागुन मसान्तसम्म ठूला १०, मझौला चार र साना १८० उद्योग दर्ता भएका हुन् । विदेशी लगानीका साना उद्योग, स्वदेशी तथा विदेशी लगानीका मझौला र ठूला उद्योग गरी विभागले १९४ उद्योग दर्ता गरेको हो । स्वदेशी लगानीका साना उद्योग भने घरेलु तथा साना उद्योग विकास समिति र घरेलु तथा साना उद्योग विभागले दर्ता गर्दै आएका छन् ।

दर्ता भएका उद्योगमध्ये कृषिजन्य ११, ऊर्जामूलक चार, सूचना, प्रसारण तथा सञ्चार प्रविधि १७, उत्पादनमूलक ३९, खनिज एक, सेवामूलक ६२ र पर्यटन ६० उद्योग रहेका छन् । रु १० करोडभन्दा सानो लगानीका उद्योगलाई साना उद्योग, रु १० करोडदेखि २५ करोड लगानीसम्मका मझौला र रु २५ करोडभन्दा बढी लगानी भएका उद्योगलाई ठूला उद्योगका रुपमा दर्ता गर्दै आएको विभागले १९४ उद्योगबाट रु ३४ अर्ब ९१ करोड सात लाख बराबरको लगानी भित्र्याएको छ । विभागमा हालसम्म झण्डै सात हजार ५०० उद्योग दर्ता भएका छन् ।

विभागका सूचना अधिकारी दुर्गाप्रसाद भुसालले देशमा तिनै तहको निर्वाचन सम्पन्न भएर स्थिर सरकार बनेकाले औद्योगिक क्षेत्रमा लगानी बढेको बताउनुभयो । “अघिल्ला वर्षको तुलनामा यो वर्ष उद्योग क्षेत्रमा लगानी बढेको छ,” उहाँ भन्नुहुन्छ ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री