बिहीबार, १५ चैत २०८०

प्रवासी नेपालीको समस्या समाधान हुने विश्वास

समयपोष्ट २०७४ चैत २४ गते ३:३७

रमेश लम्साल
प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणपछि नेपाली समुदायले भोग्नु परेको समस्या समाधान हुनेमा प्रवासी नेपालीले विश्वास व्यक्त गरेका छन् ।

Advertisement

नयाँ दिल्लीस्थित नेपाली दूतावासमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीसंगको भेटमा प्रवासी नेपालीले सीमा नाकामा हुने समस्या र बैंक तथा वित्तीय क्षेत्रमा भोग्नुपर्ने समस्या समाधान हुनेमा विश्वास व्यक्त गरेका हुन् ।

नेपाली नागरिक रोजगारी, अध्ययन तथा व्यापारका लागि भारतका विभिन्न स्थानमा छरिएर रहेका छन् ।

प्रवासी नेपालीले प्रधानमन्त्रीले नै विशेष पहल गरिदिए आफूहरु नियमित रुपमा काम गर्न, व्यापार गर्न र अध्ययन गर्नसमेत सहज हुने धारणा व्यक्त गरें ।

संविधान कार्यान्वयन सँगै भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि नेपालमा वाम गठबन्धनको सरकार गठन भएको छ । संघीय संसद्को तीन चौथाइ मतसहित वर्तमान सरकार गठन भएको भन्दै प्रवासी नेपालीले आर्थिक समृद्धि र विकासको युग शुरु हुने अपेक्षासमेत गर्नुभयो ।

स्वदेशमा नै रोजगारीको अवसर प्राप्त भए विदेशी भूमिमा आउनु नपर्ने दुखेसो व्यक्त गर्दै प्रवासी नेपालीले नेपालको समृद्धि र उन्नतिको नेतृत्व गर्न प्रधानमन्त्री ओलीलाई सुझावसमेत दिनुभयो ।

प्रवासी नेपालीका प्रतिनिधि जुद्धबहादुर जिटीले पीडामा रहेका नेपाली जनताको मुहारमा खुशीको सञ्चार ल्याउने गरी काम गर्न वर्तमान सरकार र प्रधानमन्त्री ओली सफल हुने विश्वास व्यक्त गर्दै प्रवासमा रहँदा नेपाली नागरिकले अनेकन हैरानी खेप्नु परेको, नेपालीको आफ्नो पहिचानसमेत नहुने अवस्था रहेको हुँदा स्वदेशमा नै फर्केर काम गर्ने वातावरण बनाउन सरकारसंग आग्रह गर्नुभयो ।

प्रवासी नेपालीका अर्का प्रतिनिधि कृष्णप्रसाद भट्टराईले नेपाली जनताको सुख–दुःख देखेको र आफैँले अनुभव गरेको हिसाबले पनि वर्तमान सरकार र प्रधानमन्त्री ओलीको कार्यकालमा नेपालले नयाँ फड्को मार्ने विश्वास व्यक्त गर्दै प्रवासी नेपालीको दुःख, पीडा कस्तो हुन्छ भन्ने विषयमा समेत प्रधानमन्त्री आफँै जानकार रहनुभएकाले पनि यस पटक सुखद सन्देश प्रवाह हुन्छ भन्नेमा आफू आशावादी रहेको स्पष्ट पार्नुभयो ।

रोजगारीको खोजीमा बाजुराबाट नयाँ दिल्लीमा रहनुभएका केशव रेग्मी पनि आगामी दिनमा स्वदेशमा नै रोजगारीको अवसर सिर्जना हुने र विदेशमा आउनु नपर्ने अवस्था आउने बताउनुभयो ।

राजनीतिक नेतृत्वले चुनावमा मात्रै मतदाता सम्झने अवस्थाको अन्त्य गरी अरू समयमा पनि नेपाली नागरिकको दुःख पीडामा मल्हम लगाउने अवस्थाको सिर्जना होओस् भन्ने नेपाली जनताको चाहनालाई वर्तमान सरकारले विशेष ध्यान दिनुपर्छ उहाँले भन्नुभयो ।

प्रधानमन्त्री भारत भ्रमणमा आउनुभएको सुनेर नेपाली दूतावासमा सयाँै नेपाली उपस्थित भएका थिए । उनीहरुले एकमुष्ट रुपमा आफूहरुले भोग्नु परेको समस्या समाधानका लागि पहल गरिदिन प्रधानमन्त्री ओलीसंग आग्रह गर्नुभएको थियो ।

नेपाल–भारत सीमा क्षेत्रमा नेपाली नागरिकले भारतीय सुरक्षाकर्मीबाट हैरानी भोग्नु परेको, आपराधिक प्रवृत्तिका नागरिकले लुटपाट गर्ने गरेको र रोजगारीमा रहेका नेपालीले स्वदेशमा पैसा पठाउन समस्या भएको जस्ता गुनासो उनीहरुले प्रधानमन्त्री ओलीलाई अवगत गराएका थिए ।

समस्या समाधानको पहल गर्छु : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समुदायले भारतमा भोग्नु परेको समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

यहाँस्थित नेपाली दूतावासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पञ्चायतकालदेखि नै नेपाली समुदायको समस्याबारे आफू जानकार भएकाले समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

आफू सद्भाव वृद्धि गर्न भारतको राजकीय भ्रमणमा आएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र अरू उच्च अधिकारी सँगको भेटमा पनि नेपालीको समस्या समाधानका लागि छलफल गर्ने बताउनुभयो ।

नेपालमा राजनीतिक स्थिरता कायम भएको र आर्थिक समृद्धिको युग शुरु भएकाले स्वदेशमा नै रोजगारीको अवसर सिर्जना गर्दै जाने सोचमा सरकार रहेको उल्लेख गर्दै उहाँले युवा शक्तिलाई स्वदेशमा नै रोजगारीको अवसर प्रदान गर्न वर्तमान सरकार प्रयत्नशील रहेको धारणा व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री ओली तीनदिने भारतको राजकीय भ्रमणका क्रममा आज यहाँ आइपुग्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री