
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भरतपुर महानगरपालिकाका सम्बन्धमा नयाँ प्रस्ताव अघि सारेका छन्। माओवादीले मेयर पदको अडान नछाडेपछि पार्टी कार्यालय सानेमा बसेको केन्द्रीय कार्यसम्पादन बैठकमा उनले मित्रवत् प्रतिस्पर्धाको प्रस्ताव अघि सारेका हुन्।
उनले अघिल्लोपटक कांग्रेसले माओवादीलाई सघाएको भन्दै यसपटक माओवादीले कांग्रेसलाई सघाउनुपर्ने बताए। ‘०७४ मा कांग्रेसले मेयरमा माओवादीलाई छाडेको थियोl माओवादी चाहन्छ, योपटक पनि कांग्रेसले सघाउनुपर्छl तर हामी चाहन्छौं योपटक माओवादीले कांग्रेसलाई छोडनुपर्छ,’ बैठकमा उनले भने।
त्यसो नभए मित्रवत् प्रतिस्पर्धाबाट अघि बढ्नुपर्ने उनले बताए। ‘स्थानीय स्थिति, स्थानीय भावना र स्थानीय आवश्यकताले भन्छ- भरतपुरको मेयर कांग्रेसको बन्नुपर्छ, तालमेल भए तालमेलबाट नभए मित्रवत प्रतिस्पर्धाबाट,’ बैठकमा उनको भनाइ थियो।
उनले सकेसम्म देशभरि कांग्रेस एक्लैले चुनाव लड्नुपर्ने बताएका थिए। उनले कांग्रेसको निर्णय पनि गठबन्धन नभइ तालमेल रहेको स्पष्ट पारेका थिए।
‘मेरो व्यक्तिगत धारणाचाहिँ देशभरि एक्लै चुनाव लड्नुपर्छ भन्ने हो। हाम्रो निर्णय पनि गठबन्धन होइन, तालमेलमात्र होl त्यो पनि स्थानीय स्थिति र आवश्यकता अनुरुपमात्र,’ उनले भने। आजको अन्नपूर्ण पोष्ट् दैनिकमा यो समाचार छ ।










प्रतिक्रिया