‘परिवर्तनलाई उल्ट्याउने प्रतिक्रान्तिकारी गुटको षड्यन्त्र परास्त गर्छौं’

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले एमाले नामको प्रतिक्रान्तिकारी, प्रतिगमनकारी गुटले गणतन्त्र र संविधान नै उल्ट्याउने षड्यन्त्र गरिरहेको बताउनु भएको छ।

Advertisement

शुक्रबार चितवनको खैरहनीमा आयोजित पार्टीको राजनीतिक प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले राजावादीहरुसँग सहकार्य र विदेशी प्रतिक्रियावादीहरुसँग आत्मसमर्पण गर्दै एमालेलगायतका प्रतिगामी तत्वहरुले परिवर्तनलाई उल्ट्याउने षड्यन्त्र गरिरहेको बताउनु भएको हो।

देशमा लोकतान्त्रिक गणतन्त्रको स्थापनासँगै संविधान निर्माण भई समावेशी लोकतन्त्रको अभ्यास भइरहेको चर्चा गर्दै प्रचण्डले भन्नुभयो, ‘हरेक क्षेत्रमा उत्पीडित वर्ग, जाति, लिङ्ग, क्षेत्र र समुदायको समावेशी समानुपातिक प्रतिनिधित्वको प्रक्रिया शुरुवात भएको छ। तर हिजोका सामन्ती, राजावादीहरुसँग मिलेर एमाले नामको प्रतिगमनकारी गुटले माओवादीले ल्याएका एजेण्डाहरु गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी समानुपातिक प्रतिनिधित्वलाई उल्ट्याउने षड्यन्त्र गर्दैछन्।’

सहिदहरुको बलिदानबाट प्राप्त गणतन्त्र, बेपत्ता÷घाइते योद्धाहरु र लाखौं जनताको त्याग र आन्दोलनबाट प्राप्त परिवर्तनलाई त्यति सजिलै कसैले उल्ट्याउन दिवास्वप्न नदेख्न प्रचण्डले चेतावनी दिनुभयो।

अर्को प्रसंगमा अध्यक्ष प्रचण्डले चितवन कम्युनिस्ट क्रान्तिकारीहरुकै उर्वरभूमि भएको चर्चा गर्दै माओवादी जनयुद्धदेखि नै चितवन आधार क्षेत्र भएकाले त्यसलाई जोगाउन सबै लाग्नुपर्ने बताउनु भयो। ‘चितवनको भूमि कम्युनिस्ट क्रान्तिकारीहरुको उर्वरभूमि हो। यदि कसैले कम्युनिस्ट उर्वरभूमि छैन भन्छ भने त्यो गलत हो’, प्रचण्डले भन्नुभयो, ‘प्रतिक्रियावादी र संशोधनवादीले फैलाएको भ्रम चिरेर राष्ट्र, जनता, वर्ग हाम्रो समुदायको हक अधिकारको निम्ति एक पटक जागौँ ।’

Advertisement

यसैबीच शुक्रबार नै भरतपुर अस्पतालको ५९ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले चितवनमा विकास निर्माणले गति लिएकोमा खुसी व्यक्त गर्नुभयो। आफू प्रधानमन्त्री रहँदा सिलन्यास गरेका ट्रमा सेन्टर, डाइग्नोष्टिक सेन्टर र बिरामी कुरुवा घरको उद्घाटन पनि आफैले गर्न पाउँदा खुसी लागेको भन्दै उहाँले भौतिक पूर्वाधारको विकाससँगै अस्पतालले बिरामीहरुलाई गुणस्तरीय र विशेषज्ञ सेवा सुविधा दिने विश्वास व्यक्त गर्नुभयो।

भरतपुर अस्पताललाई संघीय अस्पतालको रुपमा विकास गर्नका लागि आफूले निकै मेहनत गरेको स्मरण गर्दै अध्यक्ष प्रचण्डले अस्पतालको भौतिक संरचना निर्माण गर्न होस् वा सेवा सुविधा थप गर्न आफूले विगतमा पहल गरेजस्तै अबका दिनमा पनि निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो। अस्पताललाई नाममात्रको होइन, सेवा सुविधासहितको नमूना अस्पताल बनाउन राज्यको दायित्व पनि उत्तिकै रहने भन्दै प्रचण्डले सबैको सकारात्मक पहलकदमीले सफल हुने विश्वास व्यक्त गर्नुभयो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री