
फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठको मध्यपुरठिमीमा बिस्केट (बिस्का) जात्रासम्बन्धी एकल फोटो प्रदर्शनी मंगलबारदेखी भृकुटीमण्डपस्थित पर्यटन बोर्डको प्राङ्गणमा जारी रहेको छ ।
तीन दिनसम्म चल्ने प्रदर्शनीमा मध्यपुरठिमीमा हुँदै आएको जात्राका १०० भन्दा बढी फोटो प्रदर्शनीमा राखिएका छन् । प्रदर्शनीमा जात्राको सुरुदेखि अन्त्यसम्मका फोटो राखिएका छन् ।
आज फोटो प्रदर्शनीको अवलोकन गर्दै मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले नेपालका चाडपर्व र जात्रालगायतका संस्कृति हाम्रा पहिचान भएको बताए ।
उनले आफनो सभ्यता र संस्कृतिको संरक्षण एवं सम्वद्र्धन गर्ने उद्देश्यले गरिएको फोटो प्रदर्शनी नयाँ आयाम भएको उल्लेख गरे ।

पत्रकार श्रेष्ठले १० वर्षयता खिचेका ठिमीमा मनाइने बालकुमारी, दक्षिण बाराही, विष्णुवीर, सिद्धिकाली गण, नगदेशको सिद्धि गणेश तथा बोडेको महालक्ष्मी गण र जिब्रो छेड्ने जात्राका एक सय तस्वीर प्रदर्शनीमा राखिएको छ ।

फोटो प्रदर्शनीको हिजो मंगलवार काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र मध्यपुर ठिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले संयुक्तरुपमा शुभारम्भ गरेका थिए ।
हरेक वर्षको अन्त्यसँगै नयाँ वर्षको सुरुआतमा ऐतिहासिक महत्वको बिस्का जात्रा मध्यपुरठिमी क्षेत्रमा मनाइँदै आइएको छ । जात्रा चैत ३०, वैशाख १ र २ गते हर्षोउल्लासका साथ मनाइन्छ । चैत ३० गते विष्णुवीर देवताको जात्रा, वैशाख १ गते बालकुमारी कुहाँ बिज्याइग र सिद्धिकाली जात्रा तथा वैशाख ३ गते सिन्दुर जात्रा, ३२ खट जात्रा र जिब्रो छेड्ने जात्रा मनाइने गरिन्छ ।













प्रतिक्रिया