बिहीबार, २७ वैशाख २०८१

नेपालमा पनि चल्न थाल्यो भारतको ‘रुपे’ कार्ड, एसबीआई बैंकबाट कारोवार गर्न मिल्ने

नेपाल भारतका नागरिकलाई नगद बोक्नुपर्ने झन्झटबाट मुक्ति

समयपोष्ट २०७८ चैत २२ गते १३:०६

Advertisement

नेपालमा अब भारतको ‘रुपे’ कार्ड पनि प्रचलनमा आएको छ।  प्रधानमन्त्री देउवाको तीनदिने भारत भ्रमणको क्रममा भारतीय कार्ड ‘रुपे’ नेपालमा प्रयोगमा ल्याउन सम्झौता गरेसंगै नेपालमा  भारतको ‘रुपे’ कार्ड प्रचलनमा आएको हो ।

गत शनिबार एक कार्यक्रममा प्रधानमन्त्री देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा रुपे कार्डको सेवा सुविधा नेपालबाट दिन उद्घाटन गरेका थिए। यसैक्रममा भारतीय प्रधानमन्त्री मोदीले सो कार्ड प्रयोगले भुक्तानीमा सजिलो बनाउने बताएका थिए।  यो कार्डको प्रयोग नेपाल आएका भारतीय नागरिकले नेपाल एसबीआई बैंकको पोस (पीओएस) र एटीएमबाट मात्रै गर्न सक्छन्।

नेपाल राष्ट्र बैंकले यो कार्ड प्रयोगमा ल्याउन नेपाल एसबीआई बैंकलाई गत चैत्र १७ गते नै अनुमति दिएको थियो। प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा जाने एजेन्डा यो पनि भएकोले भ्रमण अगाडि नै नेपाल एसबीआई बैंकले यसको अनुमति मागेको थियो । नेपालमा हालसम्म इस्यु गर्न अनुमति पाएका अन्तर्राष्ट्रिय स्तरका भिसा, मास्टर कार्ड र यूपेआई कार्ड मात्र प्रचलनमा थिए।

‘रुपे’ भारतको ‘नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डिया (एनपीसीआई)’को स्वामित्वमा रहेको कार्ड हो। यो भारत सरकारले प्रयोगमा ल्याएको डिजिटल कार्ड हो। एनपीसीआईले जारी गरेको यो कार्डलाई भारतका बैंकहरूले इस्यु गर्छन्।

Advertisement

हालसम्म विदेशीले भिसा, मास्टर कार्ड र चाइनाको यूपेआई ल्याएर आउँदा नेपालका जुनसुकै बैंकको एटीएम र पोस मेसिन (पीओएस–पोइन्ट अफ सेल्स) मा चल्छ। यसैगरी अब रुपे पनि चल्छ।  तर, यो हालसम्म नेपाल एसबीआई बैंकको छ ।

‘रुपे’ कार्ड प्रचलनमा आएसंगै अब भारतीय पर्यटकले भारतीय बैंकले जारी गरेको रुपे कार्डबाट चल्ने भएपछि नगद लिएर आउनु पर्दैन। किनभने एसबीआई बैंकको एटीएमबाट नगद झिक्न सकिन्छ र एसबीआईको पोस मेसिनमा कार्ड स्वाइप गरेर भुक्तानी गर्न सकिन्छ।

रुपे भारतभर चल्ने राष्ट्रिय कार्ड हो। भारतमा भुक्तानी प्रणालीलाई एकीकृत गर्न यस्तो कार्ड ल्याइएको हो। एसबीआईलगायतका बैंकहरूमा रुपे कार्डहरू जारी गरिएको छ। भारतको प्रधानमन्त्री जनधन योजनाअन्तर्गत खोलिएका खाताहरूमा रुपे कार्ड अनिवार्य रूपमा जारी गरिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री