
सामुदायिक विद्यालयका विद्यार्थीमा पनि विज्ञान तथा प्रविधि क्षेत्रमा सृजनात्मक क्षमता विकास गर्ने लक्ष्यसहित रानीपोखरी स्थित दरबार स्कुलले अत्याधुनिक रोबोटिक ल्याबोरेटरी ल्याब स्थापना गरेको छ।
विज्ञान तथा प्रविधिका विषयबस्तुहरु विद्यार्थीलाई अध्ययन गर्न÷गराउँदा विद्यार्थीमा सैद्धान्तिक ज्ञानका साथै रमाइलो गर्दै व्यवहारिक ज्ञान समेत उपलब्ध गराउने लक्ष्यसहित स्कुलले रोबोटिक ल्याबको स्थापना गरेको हो। सामुदायिक विद्यालयका विद्यार्थीलाई सधैं विज्ञान विषय निकै अप्ठ्यारो लाग्ने छ। यो समस्या नेपालका सबै सामुदायिक विद्यालयमा छ। तर अप्ठ्यारोलाई सरलतासाथ सिकाउने माध्यम भने दरबार स्कुलले निकालेको छ।
रोबोटिक ल्याब विद्यालय स्तरमै स्थापना गर्ने सामुदायिक विद्यालयहरुमध्ये काठमाडौंको दरबार स्कुल पहिलो रहेको काठमाडौं महानगर शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले बताए।
गत बुधबार काठमाडौं महानरपाकिालको मेयर विद्यासुन्दर शाक्य स्कुलमै पुगेर ल्याबको विधिवत सुरुवात गर्ने औपचारिकता प्रदान गरेसँगै बालबालिका र विद्यालय परिवारनै हर्षित बनेको देखियो। यति मात्र होइन ल्याबोरेटरीको अवलोकन गर्न बुधबार उपत्यकाका विभिन्न विद्यालयका प्रधानाध्यापकहरु समेत दरबार स्कुल पुगेका थिए।
स्कुलमा पुग्दा त्यहाँ विद्यार्थीहरुले आफूले कक्षाकोठामा अध्ययन गरेका विज्ञान तथा प्रविधिका विषयबस्तुहरुलाई ब्यवहारिक रुपमा उतारेर परियोजना मार्फत प्रस्तुत गरेका थिए। आजको नागरिक दैनिकमा यो समाचार छ ।










प्रतिक्रिया