
प्रधानमन्त्री शेरबहादुर देउवा छिमेकी मित्रराष्ट्र भारतको तीन दिने औपचारिक भ्रमणको सिलसिलामा आज मध्याह्न नयाँ दिल्ली प्रस्थान गर्दै छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री देउवाको यो भ्रमण पाँचौं पटक प्रधानमन्त्री भएपछिको पहिलो औपचारिक भ्रमण हो ।
प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल नेपाल वायुसेवा निगमको नियमित उडानबाट दिउँसो १ः२५ बजे नयाँदिल्ली प्रस्थान गर्नेछ भने सोही एयरलाइन्सबाट यही चैत २० गते साँझ ६ः१० स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ । स्वदेश फर्कनुअघि प्रधानमन्त्रीले भारतको वाराणसीको पनि भ्रमण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भ्रमण टोलीमा देउवा पत्नी आरजु राणा देउवासहित परराष्ट्रमन्त्री नारायण खड्कालगायत मन्त्रीहरु, सचिवहरु तथा पदाधिकारीहरु रहेका छन्। भ्रमण टोलीमा सरकारी उच्च अधिकारी, उद्योगी व्यवसायी, सञ्चारकर्मी गरी करिब ५० जना सहभागी छन् ।
भ्रमणको पहिलो दिन प्रधानमन्त्री देउवासँग भारतीय विदेशमन्त्री एस जयशंकरले भेट्ने कार्यक्रम छ। भारतीय विदेश मन्त्रालयले जारी गरेको भ्रमण तालिकाअनुसार जयशंकरले शुक्रबार साँझ साढे चार बजे प्रधानमन्त्री देउवासँग भेट गर्ने कार्यक्रम छ।
भ्रमणको दोस्रो दिन बिहान देउवाले समकक्षी मोदीसँग हैदारावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय भेट गर्ने कार्यक्रम रहेको छ। देउवा र मोदीबीच बिहान ११ः१० मा प्रतिनिधिमण्डलस्तरीय कुराकानीपश्चात् १२ः१५ बजे विभिन्न सहमति तथा सम्झौता आदानप्रदान गर्ने कार्यक्रम छ।
सोही दिन साँझ उनले उपराष्ट्रपति एम वेनकाइया नायडुसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। देउवाले शनिबार साँझ साढे चार बजे उपराष्ट्रपतिसँग भेट गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री देउवासँग भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलले पनि भेट वार्ता गर्ने कार्यक्रम रहेको छ। त्यस्तै देउवाले भ्रमणका क्रममा नयाँ दिल्लीमा व्यापारीहरूको कार्यक्रमलाई पनि सम्बोधन गर्नेछन्। देउवाले नेपालसँग सीमा जोडिएको उत्तर प्रदेशको वाराणसीको पनि भ्रमण गर्ने कार्यक्रम रहेको छ।










प्रतिक्रिया