शुक्रबार, ४ जेठ २०८१

२ अर्ब नाघ्यो प्रभु बैंकको खुद नाफा

समयपोष्ट २०७८ वैशाख १३ गते ११:१२

Advertisement

प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २ अर्बभन्दा बढी खुद नाफा आर्जन गरेको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले २ अर्ब १० करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ४४.०८ प्रतिशत बढी हो। खुद ब्याज आम्दानी सामान्य बढे पनि फि तथा कमिशन आम्दानी र अन्य सञ्चालन आम्दानी बढेपछि बैंकको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६.६० प्रतिशत बढेको छ। त्यसैगरी, यस साता खुद फि तथा कमिशन आम्दानी ४२.०७ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ४६.८५ प्रतिशत बढेको छ। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ५९ करोड ३९ लाख रुपैयाँ पुगेको छ।

खुद नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ९० पैसा बढेर २४ रुपैयाँ ७९ पैसा पुगेको छ। चैत मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १८.७६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५२ रुपैयाँ ८६ पैसा रहेको छ।

Advertisement

गत आर्थिक वर्षको अन्त्यको तुलनामा चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकको चुक्ता पूँजी १० प्रतिशत बढेको छ भने जगेडा कोष १८.२५ प्रतिशत बढेको छ। समीक्षा अवधिमा बैंकको निक्षेप १८.२५ प्रतिशत बढेको छ भने कर्जा ३५.१२ प्रतिशत बढेको छ।

कर्जा लगानी बढेपनि बैंकको निष्क्रिय कर्जा घटेको छ। गत आर्थिक वर्षको चैत मसान्तको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकको यस्तो कर्जा १.४७ प्रतिशतविन्दु घटेर १.४८ प्रतिशत पुगेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री